आत्तिएका विद्वान अर्थमन्त्रीको धम्की !

काठमाडौँ । अघिल्लो संसदमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न विपक्षी दलले माग गर्दै आएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी विपक्षमा थियो । भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्वमुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा समिति गठन गर्ने सरकारले निर्णय गर्यो । तर रास्वपाले त्यसलाई स्वीकार्य नहुने बताउँदै आएको थियो । प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नयाँ हुन् तर वेबकुफ नभएको बताए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको भन्दै आरोपीले नै आफ्नो अनुसन्धानको अधिकृत छान्दै जाने कुन सिस्टममा गयौं ? भन्दै प्रश्न गरे । सहकारीकै मोडलमा वा जाँचबुज आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भन्ने आफूहरुको माग गरेको बताए । उनले भनेका थिए, ‘भिजिट भिसाको दुरुपयोग गरी मच्चाइएको लुट, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र मानव तस्करीबारे सरकारले अनुमानयोग्य काम गरेको छ। छानबिनका नाममा सुनपानी छर्किने काम मात्र भएको छ।’

हेर्नुस् अघिल्लो संसदमा वाग्लेको अभिव्यक्ति

भिडियोः नयाँपत्रिकाबाट

तर अहिले झण्डै दुई तिहाई मतका साथ रास्वपा सत्तामा छ । डा. स्वर्णिम वाग्ले अर्थमन्त्री छन् । आज तिनै वाग्लेमाथि करका दर हेरफेरबारे गम्भीर आरोप लगोको छ । बजेट निर्माणका क्रममा विद्युतीय सवारी साधन (ईभी) मा गरिएको करको दर हेरफेरका कारण उनी विवादित बनेका छन् । सांसदमा प्रतिपक्ष सांसदहरूले नीतिगत भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन् भने संसदीय छानबिन समिति बनाउन माग पनि गरिरहेका छन् । संसदमा मात्रै नभएर संसदीय समितिमा समेत संसदीय उच्चस्तरीय छानबिन समिति बनाउन विपक्ष सांसदहरूले मागेका छन् । अघिल्लो संसदमा विपक्षमा रहेका त्यसरी कुर्लने वाग्ले आफूमाथि यस्तो गम्भीर आरोप लाग्दा छानबिन गर्नै नहुने भन्दै वकालत गर्दै आएका छन् । मिडियाले यो विषमा लेखेको भन्दै उनले आक्रोश पोखेका छन् । उनले यो सामाचार लेख्ने मिडियालाई खोस्टोको संज्ञासमेत दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा वाग्लेले भने, ‘आज सार्वजनिक लेखा समितिमा पनि भनेँ– एक दुई वटा खोस्टाहरूले लेखे, तीन अर्बको आशंका इत्यादि भने ।’

उनी मिडियाप्रति अलि बढी नै आक्रोशित देखिएका थिए । उनले मिडियाकै आधारमा बोल्दा संसदको गरिमा नजोगिने बताए । उनले भने, ‘स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर खुरुखुरु चलाएर व्यापारी पोस्ने काम गर्यो भन्ने पनि सुनिए । सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ । सम्मानित सदनको ओज घटाउने कामतिर लाग्नु हुँदैन ।’

बैठकमा उनले अलिकति इमोसनल ब्ल्याकमेलिङ पनि गरे र विपक्षीलाई धम्की पनि दिए । उनले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको भेटिएमा म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवनबाट त्याग्न तयार छु । केवल दुई रुपैयाँ । यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस शुभकामना छ । तपाईंहरुको काण्डबारे हामी अनभिज्ञ हो र ?’

अर्थमन्त्री वाग्लेको यस्तो अभिव्यक्ति आएपछि उनीमाथि थप आलोचना सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई संसदीय समिति गठन गराएर देखाउन चुनौती दिएका छन् । उनले भनेका छन्, ‘दुई अर्ब होइन, दुई रुपैयाँ घोटाला भएको देखाऊ भन्नुभएको छ, अर्थमन्त्रीज्यूले । यदि हिम्मत र दम छ भने संसदीय छानबिन गराएर देखाउनुस् । किन डराउनु भएको छ संसदीय छानबिन समिति बनाउन ? समितिले देखाइहाल्छ नि को दोषी हो, को निर्दोष हो भनेर । आफ्नै हात जगन्नाथ, जे गरे पनि भयो भन्ने शैली स्वीकार्य हुँदैन। सत्य तपाईंको पक्षमा छ भने निष्पक्ष संसदीय छानबिनबाट किन भाग्ने? छानबिन गरौँ, सत्यतथ्य जनतासामु ल्याऔँ । फाइल खोलौँ भनेर धम्की दिनुभएको छ। खोल्नुस् न फाइल, कसले रोकेको छ ? राष्ट्रघाती एमसीसीको फाइल पनि खोलौँ। एमसीसी सम्झौताको दस्तावेज तयार गर्दा कसले कति कुम्ल्यायो र संसदबाट पारित गर्ने क्रममा कसले कति कुम्ल्यायो भन्ने विषयमा पनि तथ्यसहित सार्वजनिक गरौँ ।’

नागरिक अगुवा नारायण वाग्लेले अर्थमन्त्रीले फाइल खोलौँ भनेर बार्गेनिङ गलत भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र ? ती पनि खुल्नेछन्।’ यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो । जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिङ गर्ने होइन ।’

पत्रकार राजेन्द्र बानियाँले अर्थमन्त्रीमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘अब पुराना दलका नेता एक एक जेल जानेछन् किनकी सत्तापक्षकै ठूला नेता र मन्त्रीले तिमीहरुको कर्तुत एकएक थाहा छ भनेसी चुप लागेर बस्नु त उहाँको पनि मिलेमतो पुष्टि हुन्छ होला नि।’

राजनीतिक विश्लेषक मुमाराम खनालले अर्थमन्त्रीको भनाई गलत भएको बताएका छन् । उनले भनेका छन्, ‘म ’चोर’ हो, तर तिम्रो ‘चोरी’ पनि म पत्ता लगाउँछु। नेपालमा राजनीतिलाई यो भन्दा बढी ‘अराजनीतिक’ भाषा र ढंगमा कहिल्यै सुनिएको र देखिएको थिएन । नयाँले ‘नयाँ’ नै गरे। हाम्रो परम्परामा ‘नाँगिनु’ पनि ’नयाँ’ हो। तर ’नाँगो’ र ’नयाँ’मा फरक हुन्छ।’

लामो समय पत्रकारिता गरेर हालै श्रम संस्कृति पार्टीका सचिव टीकाराम राईले अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘अर्थमन्त्री डा. सुर्णिम वाग्लेले संसदमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा कडा प्रश्न गर्ने सांसदहरूको ‘फाइल खोल्ने’ अभिव्यक्ति दिनुभएको समाचार सार्वजनिक भएको छ। यो केवल असन्तुष्टि व्यक्त गर्ने कुरा मात्र होइन, आलोचकप्रति प्रतिशोध साध्ने संकेतका रूपमा पनि बुझ्न सकिन्छ । संसदीय लोकतन्त्रमा सांसदहरूको प्रमुख दायित्व सरकारलाई प्रश्न गर्नु, जवाफदेही बनाउनु र जनताको सरोकार उठाउनु हो। प्रश्नको उत्तर तथ्य, तर्क र प्रमाणबाट दिनुपर्ने ठाउँमा फाइल खोल्ने चेतावनी दिनु लोकतान्त्रिक संस्कृतिसँग मेल खाँदैन । एक विद्वान, अर्थशास्त्री र बौद्धिक व्यक्तित्वका रूपमा चिनिएका अर्थमन्त्रीबाट अझ बढी सहिष्णुता, तार्किकता र लोकतान्त्रिक आचरणको अपेक्षा गरिन्छ। शक्तिको प्रयोग आलोचनाको जवाफ दिन होइन, आलोचनालाई सम्बोधन गर्नका लागि हुनुपर्छ । लोकतन्त्रमा प्रश्न गर्ने अधिकार कमजोर हुनु भनेको जवाफदेहिता कमजोर हुनु हो। त्यसैले प्रश्नको जवाफ तथ्यले दिनुपर्छ, धम्कीले होइन । के धम्कीमार्फत प्रश्न मार्न खोज्नु रास्वपाको चरित्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *