-माजिद अन्सारी
हिजोआज प्रतिनिधिसभाका दुई माननीय सदस्य तथा प्रतिनिधिसभाका सम्मानीय सभामुख डीपी अर्यालज्यूकोे बीचमा चलेको संवाद तथा त्यो संवादलाई विवादमा बदलन संसदको टेबल ठोकेर लाज जोगाउन खोज्नु हुने बहुमत माननीय सदस्यहरूको (अ)संसदीय क्रियाकलाप आशातित रुपमा दुःखद छन् ।
पहिलो घटना,
मंगलबार प्रतिनिधिसभाका सदस्य निश्कल राईज्यूको ‘… जेनजी विद्रोहका शहीदहरूप्रति सम्मान प्रकट गर्दै …साथीहरूलाई उठ्न पनि अनुरोध गर्दछु’ भनी उठेर मौन धारण गरिरहेकै अवस्थामा सम्मानीय सभामुख डीपी अर्यालज्यूले सदन चलाउने काम सभामुखको हो, आफू खुसी यसरी आफैँले सदन चलाए जस्तो गरी क्रियाकलाप गर्नु ठिक होइन भन्नु संसदीय व्यवस्थामा सभामुखले गर्नैपर्ने र बोल्नै पर्ने काम थियो, र माननीय सदस्य निस्कल राईज्यूले त्यसरी आफैँले सदनको कार्यसूचीमा नभएको विषयमा आफैँले सदन चलाए जसरी आउनु पनि हुँदैन थियो । आउनै परेको भए शोक प्रस्ताव पेश गरेर गर्नुपथ्र्यो । त्यो हदसम्म माननीय सदस्य निस्कल राईज्यूले संसदीय परम्पराको बर्खिलाफ गर्नु भएकै हो, भविष्यमा त्यस्तो नहोस् ।
तर,
रास्वपाका माननीय सदस्यज्यूहरु बाहेक लगभग सबै दलका माननीय सदस्यसहित क्यामेरा व्यक्ति समेतले मौन धारण गरिरहेकै बखतमा सम्मानीय सभामुखज्यूले ‘सदन चलाउने काम सभामुखको हो’ भन्नु ‘जेनजी विद्रोहका शहीदहरू प्रति सम्मान प्रकट गर्दै मौन धारण गर्न अनुरोध गर्दछु’ भन्ने प्रस्तावमा मौन बस्नु भन्दा बढी सान्दर्भिक र उपयुक्त थियो ?
अझ जेनजी विद्रोह, जेनजी शहीद र घाइतेकै बलमा निर्वाचित हुनु भएको सभामुख महोदयलाई मौन धारणकै बीचमा जेनजी शहीदप्रति सम्मानको लागि गरिएको मौनधारणलाई तुच्छ तुल्याउने गरी सभामुखकोे कुर्सीको अख्तियारी देखाउन र संसदीय मर्यादा र परपम्परा पढाउन अलिकति पनि संकोच भएन ? मौनधारणको अवधि समाप्त भएपछि सम्माननीय सभामुखज्यूले विपक्षी दलका माननीय सदस्यज्यूहरु आफ्नो कुर्सीको अख्तियारी र संसदीय मर्यादाको पाठ पढाउँदा के बिग्रन्थ्यो ?
अनि सत्तापक्षका माननीय सदस्यहरू, जो आफैँ चुनाव ताका भोट माग्न जाँदा ‘जेनजी शहीदहरुको रगतलाई सम्झिँदै हामीलाई भोट दिनुहोस्, हामी नै हो जेनजी शहीद तथा घाइतेका मुद्धा बोक्ने एक मात्रै नयाँ पार्टी, जेनजी शहीदका रगतलाई खेर जान दिने छैनौँ’ आदि भनेर मत मागेर निर्वाचित हुनुभएको हो, ती बहुमत प्राप्त माननीय सदस्यहरूलाई जेनजी शहीदप्रति सम्मानको लागि गरिएको मौनधारणकै बीचमा टेबल ठोकेर जेनजी शहीदहरूको सम्मानका लागि गरिएको मौन धारणाको मानमर्दन गर्न थोरै पनि लाज लागेन ? थोरै पनि इमानले रोकेन ?
दोस्रो घटना,
बुधबार प्रतिनिधिसभाका प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेज्यूले, “म सभामुखज्यूमार्फत अन्तिममा एउटा कुरा भन्दै मेरो कुरा टुंग्याउछु“ भनेर आफ्नो कुरा राख्दै गर्दा कुनै एक जना सत्तापक्षका माननीय सदस्यले केही छिन एक्लैले जोडजोडले टेबल ठोक्नु भएको आवाज सुनियो, त्यसको लगत्तै सत्तापक्षका सबै माननीय सदस्यहरुले निरन्तर टेबल ठोकिरहनु भयो, ढ्यापढ्यापकोे आवाज रह्यो, लगत्तै माननीय रवि लामिछानेज्यूले ढ्यापढ्याप गर्न बन्द गर्दै गज्जबको अनौठो मुद्रामा केही बर्वराए जस्तो गर्नुभयो भने सत्ता पक्षका अरु माननीय सदस्यहरूले ढ्यापढ्याप गरी नै रहनुभयो । बाहिर देखिएको भिडियोमा सुरुमा टेबल बजाउने कोे हुनुहुन्थ्यो भन्ने स्पष्ट देखिँदैन तर एकछिन पछिसम्म हेर्दा सुरुमा टेबल बजाउनु हुने माननीय सदस्य शायद रवि लामिछानेज्यू नै हुन् कि भन्ने बुझ्न सकिन्छ ।
यसरी गरिएको ढ्यापढ्याप प्रमुख विपक्षी दलका माननीय नेताको कुरामा समर्थनमा होकी अरु कुनै कारणले हो ठ्याक्कै बुझ्न अलि कठिन हुने जस्तो देखिएपनि पछि भने माननीय भीष्मराज आङदेम्बेलाई बोल्नै नदिने नियतले टेबल ठोकिएको व्यहोरा बुझ्न सकिन्छ । खैर त्यो ढ्यापढ्याप समर्थनमा होकी विरोधमा हो उहाँहाँहरुले नै जानुन् ।
तर प्रतिनिधिसभामा गरिने सम्बोधनको हकमा प्रधानमन्त्री तथा प्रमुख विपक्षी दलका नेतालाई समय सीमा नलगाइने परम्परा विश्वव्यापी रही आएको छ । प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेताले बोलिरहँदा बोल्न नदिने गरी सुरुमा जोसुकै माननीय सदस्यले जोड जोडले ढ्यापढ्याप गर्नु भएको हो, र पछि आफ्नो नेताको ढ्यापढ्यापमा ढ्यापढ्याप मिलाएर (अ)संसदीय धुन बजाउनु हुने सबै माननीय सदस्यहरू लाई लोकलाज हुने गरी प्रस्तुत गर्नुभएको व्यवहारलाई देख्दा प्रतिनिधिसभाका पूर्व सदस्य माननीय सुमना श्रेष्ठले कुनै बेला भन्नु भएको “ढ्यापढ्यापे माननीय“ कोे उपमाले बल्ल सार्थकता पाएको देखिन्छ ।
अन्त्यमा,
भूतपूर्व सम्मानीय सभामुख देवराज घिमिरेज्यू जस्तै भूमिकाको निरन्तरता केवल अनुहार परिवर्तनको रूपमा सम्मानीय सभामुख डीपी अर्यालज्यूको कुर्सीबाट भविष्यमा नदेखियोस् । अहिलेसम्म हेर्दा त सम्मानीय सभामुख डीपी अर्यालज्यूले भूतपूर्व सम्मानीय देवराज घिमिरेकै नक्कल गर्नु खोज्नु भएको होकी जस्तो देखिन्छ । नक्कल नै गर्नुपर्ने भए सम्मानीय सुवास नेम्बाङ्गज्यूको गर्ने प्रयास गर्नुहोस्, सभामुखको कुर्सीले न्यायको अनुभूति गरोस् ।
