-यमबहादुर मल्ल ।
म फेरि केही कुरा लेख्न बाध्य भएँ । पार्टीभित्र एकता होला, सबै क्रियाशील सदस्यहरू उत्साहित होलान्, नयाँ क्रियाशील सदस्य भर्नेहरूको तछारमछाड होला र १५औँ महाधिवेशनमा सबै १००% सामेल हुने वातावरण बन्ला कि भनेर देशभरिका कार्यकर्ताहरू आशैआशमा बसिरहेका थियौँ छन् । तर आज एक्कासी पूर्वकार्यवाहक सभापति आदरणीय पूर्णबहादुर खड्का दाइले सामाजिक सञ्जालमा लेख्नुभएको कुरा (जहाँ सभापति गगन थापाज्यूसँग ३१ दिनदेखि संवाद नभएको र एकताको प्रयासमा प्रगति नभएको भनिएको छ) पढेर स्तब्ध र चिन्तित भएँ।
के यसरी नेतृत्वको आपसी टकराव र खिचातानीले भोलि नेपाली कांग्रेस बच्छ ? के यही शैलीले १५औँ महाधिवेशन तोकिएको समयमा होला ? सत्ता, शक्ति र जबरजस्तीले मात्रै पार्टी चल्दैन। नेतृत्वको यही कमजोरी र असमझदारीका कारण सच्चा र पुराना कार्यकर्ताहरू दिनप्रतिदिन पार्टी छोडेर गइरहेका छन् । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालज्यूले पनि सामाजिक सञ्जालमा पार्टीको वास्तविक र तितो चित्र छर्लङ्ग पार्नुभएको छ। यही कुरा केही दिनपहिला मैले सामाजिक सञ्जालमा लेखेको थिएँ।
जहाँसम्म क्रियाशील सदस्यता अद्यावधिकको कुरा छ, देशैभरिका र हाम्रो गृह जिल्ला पर्वतबासी। आज मात्रै मोदी गाउँपालिका वडाका एकजना लामो समयदेखि सभापति भएर काम गरिराख्नुभएका सभापतिज्यूले फोन गरेर धेरै नै गुनासो गर्नुभयो। यस्तो गुनासो दिनहुँ फोन गरेर गरिरहन्छन्। गाउँका सोझा र प्रविधि नजानेका कार्यकर्ताहरू धेरै छन्, युवाहरू कम छन्, यस्ता कार्यकर्तालाई अनलाइन र झन्झटिलो प्रक्रियाको नाममा केन्द्रले किन सास्ती दिइरहेको छ ? गाउँबाट नवीकरण र नयाँ भरेर पठाएको क्रियाशील सदस्यता विवरण केन्द्रले आफैँ सजिलै अद्यावधिक गरिदिए के बिग्रिन्छ? पार्टी विरुद्ध लागेको छ, पार्टी छोडेको छ, मरेको छ वा अन्य पार्टीमा गएको छ भने त्यस्ता क्रियाशील सदस्यता भएकाहरूलाई वडा, पालिका, जिल्ला, क्षेत्र कहाँ–कहाँबाट गर्नुपर्ने हो सिफारिस गरी क्रियाशील सदस्यता र साधारण सदस्यताबाट हटाइदिए भयो भन्नुहुन्छ गाउँका पुराना अनुभवी कार्यकर्ताहरूले। के कार्यकर्तालाई कांग्रेसबाटै निकाल्न खोजिएको हो ? किन यो क्रियाशील सदस्यलाई जबरजस्ती गरिएको छ, केका लागि जबरजस्ती गरिराखिएको छ ? के चुनाव जित्न क्रियाशील सदस्यको सङ्ख्याले मात्रै चुनाव जितिन्छ? नेपाली कांग्रेसको क्रियाशील सदस्यता नलिनेहरू, साधारण सदस्यता नलिनेहरू कांग्रेस हुन सक्दैनन् भनेर किन बारम्बार भनिएको छ, के अन्य जनताको भोट चाहिँदैन भन्ने कुरा नेतृत्वले कहिले बुझ्छ ?
अझ अचम्मको कुरा त, अहिले केन्द्रीय, प्रदेश र जिल्लाका कतिपय आफूलाई ’वरिष्ठ’ नेता हौँ भन्नेहरूले गाउँका पार्टीका सभापति, उपसभापति, सचिव लगायतका क्रियाशील सदस्यहरूलाई दिनौँ ताकेता गर्दै फोन गरेर धम्काउने, तर्साउने, गाली गर्ने गरेका छन् । के क्रियाशील सदस्यहरूलाई अनलाइन डिजिटल नभरे त कांग्रेसमा बस्न पाउँदैनस् भन्न मिल्छ ? खबरदार ! लोकतान्त्रिक पद्धति मान्ने सच्चा कार्यकर्ताहरू कसैको धम्कीबाट डराउँदैनन्। पार्टीमा कसैको भन्दा ती कार्यकर्ताको लगानी, त्याग र सङ्घर्ष कम छैन। गाउँका सबै कार्यकर्ताले आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेर पठाइसकेका छन्, पहिले नै १५औँ महाधिवेशनको लागि त्यही अनुसार भाग लिने हो। अबबाट कार्यकर्तालाई जसले धम्काउँछ, हामीलाई भन्नुस्, त्यसको सामना गर्न हामी तयार छौँ। नेपाली कांग्रेस कोही व्यक्तिको होइन।
धम्काएर जबरजस्ती पार्टी कब्जा गर्छु भन्ने सोच कसैले नगर्नुहोला। नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई कम्युनिस्ट शैलीमा अखडा बनाउने ढाँचा बन्द गरियोस्। सत्ता र शक्ति सधैँभरि प्राप्त हुँदैन। सत्ता र शक्तिमा हुँदा तर्साउने–धम्काउने होइन, इतिहास रच्ने काम गर्नुस् आदरणीय नेताज्यूहरू । जिम्मेवार र नेतृत्वमा रहेका नेताहरू अहम् त्यागेर पार्टी एक बनाउनका लागि छिट्टै वार्ताको टेबलमा बसुन् र आम कार्यकर्ताको भावना बुझुन्। नत्र इतिहासले कसैलाई माफ गर्ने छैन।
-मल्ल नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य हुन् ।
