काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन्ः बाबुराम भट्टराई

-डा. बाबुराम भट्टराई ।

रास्वपा सभापति रवि लामिछानेको The Hindustan Times मा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरंग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ । खासगरी नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता/संस्कृति (’रोटी–बेटी’) का कुरा गरून्जेल दुबैतिर वाहीवाही नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरिको बिरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो।

तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौं तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ ।

त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो । त्यसको पनि गाँठी कुरा हो– भारतीयहरूको दिलदिमागमा अंग्रेजको पालादेखि जमेर बसेको ’सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ (  Himalayan Frontier) भन्ने सोंच । (सीमा विवाद त्यसैको अभिव्यक्ति हो) ।

अनि अर्कोतिर हामी नेपालीहरूमा गहीरोसँग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको बिषयमा सधैं झस्काइरहने ’सिक्किमीकरण’को खतराको त्रास ! यही जरो कारणले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भैरहेछ ।

यहीँ गाँठो फुकाउन मैले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरु र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा आफू प्रधानमन्त्री छँदा राम्रैसँग भित्री र बाहिरी तयारी गरेर ईपीजी (प्रबुद्ध ब्यक्तिहरूको समूह) को अवधारणा अघि सारेको थिएँ। परन्तु पछि गठित ईपीजीो प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको जगजाहेरै छ। रवि लामिछानेजीको वर्तमान दिल्लीभ्रमण यो दुष्चक्र तोड्न सफल रहोस् ! परन्तु यतिवेलै काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *