-डा. रामकृष्ण तिमल्सेना ।
नेपालको राष्ट्रिय पोशाकका रूपमा दौरा–सुरुवाल, ढाका टोपी र सम्बन्धित सांस्कृतिक पहिरनलाई लामो समयदेखि राष्ट्रिय पहिचानको प्रतीक मानिँदै आएको छ । तर पछिल्ला वर्षहरूमा राज्यका उच्च पदस्थ व्यक्तिहरू, वरिष्ठ राजनीतिक नेतृत्व तथा सार्वजनिक जीवनका प्रभावशाली व्यक्तिहरूले राष्ट्रिय समारोह, औपचारिक भेटघाट र अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत राष्ट्रिय पोशाकको प्रयोग घटाउँदै लगेका छन्। यसले एउटा प्रश्न जन्माएको छ । के राष्ट्रिय पोशाकको औचित्य समाप्त भएको हो ? कि हामी आफ्नै सांस्कृतिक आत्मबोधबाट टाढिँदै गएका हौं ?
वस्तुतः पोशाक शरीर ढाक्ने साधन मात्र होइन, यो इतिहास, संस्कृति, सभ्यता, स्मृति र राष्ट्रिय पहिचानको दृश्य अभिव्यक्ति हो। झण्डा, राष्ट्रिय गान, राष्ट्रिय भाषा र राष्ट्रिय प्रतीकहरू जस्तै राष्ट्रिय पोशाक पनि राष्ट्रको सांस्कृतिक सार्वभौमिकताको एक प्रतीक हो। कुनै राष्ट्रका नेताहरूले आफूलाई विश्वसामु प्रस्तुत गर्दा उनीहरूको पोशाकले पनि त्यो राष्ट्रको चरित्र, परम्परा र आत्मविश्वासलाई प्रतिनिधित्व गर्छ।
विश्वका धेरै राष्ट्रहरूलाई हेर्दा आधुनिकता र राष्ट्रिय पहिचानबीच द्वन्द्व होइन, समन्वय देखिन्छ। जापानका प्रधानमन्त्री तथा शाही परिवारले विशेष अवसरहरूमा किमोनोको सांस्कृतिक महत्त्वलाई सम्मान गर्छन् । भारतमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले विभिन्न भारतीय परम्परागत पोशाकलाई राष्ट्रिय गौरवका रूपमा प्रयोग गर्छन् । भुटानले त सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय पोशाक घो र किरा प्रयोगलाई संस्थागत रूपमै संरक्षण गरेको छ । साउदी अरेविया, युनाइटेड अरव इमिरेट्स तथा धेरै अफ्रिकी राष्ट्रहरूमा समेत राष्ट्रिय वा परम्परागत पोशाकलाई आधुनिक राज्य व्यवस्थासँगै सम्मानपूर्वक अघि बढाइएको छ। उनीहरू आधुनिक पनि छन्, विश्वव्यापी पनि छन्। आफ्नो पहिचानप्रति लज्जित छैनन्।
विडम्बना के छ भने नेपालमा भने कहिलेकाहीँ राष्ट्रिय पोशाक लगाउनु पुरातनपन्थी, अनौपचारिक वा आधुनिकताविरोधी जस्तो बुझिने प्रवृत्ति देखिन्छ । पश्चिमी सूट–टाइलाई व्यावसायिकताको मापदण्ड ठान्ने तर आफ्नै राष्ट्रिय पोशाकलाई औपचारिकताको स्तरमा नउभ्याउने मानसिकता अझै विद्यमान छ । प्रश्न सूट–टाइको विरोध होइन; प्रश्न आफ्नै पहिचानप्रतिको सम्मानको हो । विश्वका विकसित राष्ट्रहरूले आफ्नो पहिचान त्यागेर आधुनिकता हासिल गरेका होइनन्; उनीहरूले आफ्ना परम्परालाई आधुनिक सन्दर्भमा पुनःपरिभाषित गरेका हुन्।
निश्चय नै लोकतान्त्रिक समाजमा पोशाक व्यक्तिगत स्वतन्त्रताको विषय पनि हो। कसैलाई जबर्जस्ती कुनै पोशाक लगाउन बाध्य पारिनु हुँदैन। तर राष्ट्रको प्रतिनिधित्व गर्ने उच्च पदस्थ व्यक्तिहरूले विशेष राष्ट्रिय अवसर, कूटनीतिक समारोह र राज्यका औपचारिक कार्यक्रममा राष्ट्रिय पोशाकलाई प्राथमिकता दिनु सांस्कृतिक उत्तरदायित्व पनि हो। नेतृत्वले समाजलाई केवल नीति र भाषणबाट होइन, प्रतीक र व्यवहारबाट पनि दिशा दिन्छ।
आजको बहस दौरा–सुरुवालको कपडा, डिजाइन वा सुविधाको मात्र बहस होइन। यो राष्ट्रले आफूलाई कसरी हेर्छ भन्ने प्रश्न हो। यदि राष्ट्रिय पोशाक पुरानो भयो भने राष्ट्रिय झण्डा, राष्ट्रिय गान र राष्ट्रिय प्रतीकहरू पनि कुनै दिन पुराना ठहरिने त होइनन्? आधुनिकताको नाममा सबै मौलिकता त्याग्दै जाने हो भने अन्ततः हामी विश्व समुदायमा फरक के आधारमा चिनिने ? हामी सांस्कृतिक राज्यवाट चिनिन लायक रास्ट्र हौं ।
राष्ट्रिय पोशाकको औचित्य समाप्त भएको छैन। बरु राष्ट्रिय आत्मबोध, सांस्कृतिक आत्मविश्वास र सभ्यतागत चेतनाको महत्त्व झन् बढेको छ। दौरा–सुरुवाल लगाउनैपर्छ भन्ने आग्रहभन्दा पनि यसको सम्मान, संरक्षण र गरिमापूर्ण प्रयोग हुनुपर्छ भन्ने अपेक्षा हो। राष्ट्रहरू भूगोलले मात्र टिक्दैनन्; उनीहरू साझा स्मृति, प्रतीक, संस्कृति र पहिचानले टिक्छन्। आफ्नो पहिचानलाई सम्मान गर्न नसक्ने समाजले अरूबाट सम्मानको अपेक्षा पनि गर्न सक्दैन। दौरा–सुरुवालको प्रश्न वस्त्रको प्रश्न होइन, यो नेपालको आत्मपहिचान, सांस्कृतिक निरन्तरता र राष्ट्रिय स्वाभिमानको प्रश्न हो । यो कसैप्रति लक्षित नभएर राष्ट्र प्रति लक्षित विषय हो । आगे जो इच्छा।
