मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वोक्षण पेस गर्दै अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान गरेका हुन् ।

उनले सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान गरेका छन् । विश्व परिवेशका बाबजुद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान उनले गरेका छन् ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि र गैरकृषिको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान रहेको अर्थमन्त्री वाग्लेले सभालाई जानकारी दिए । उनले प्रदेशगत रूपमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७ प्रतिशतले रहेको जानकारी दिए । यस अवधिमा राजस्व संकलनमा सुधार भएको उनले बताए ।

उनकाअनुसार फागुन मसान्तसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ भने संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ भने खर्च १०.०४ प्रतिशतले बढेको छ ।

सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्रीले बताए । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गरेका छन् ।

बाह्य क्षेत्रका सूचकहरूलाई सर्वेक्षणले मजबुत देखाएको छ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ । तर, व्यापार घाटा ११.२ प्रतिशतले बढ्दै १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ, जुन अर्थतन्त्रका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ ।

प्रविधिमैत्री भुक्तानी प्रणालीमा पनि उल्लेख्य विस्तार भएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको सर्वेक्षणमा उल्लेख छ । समग्रमा, आर्थिक सर्वेक्षणले बाह्य क्षेत्रमा मजबुती र समष्टिगत सूचकहरूमा सुधार देखाए पनि आन्तरिक उत्पादन, लगानी र व्यापार सन्तुलनका चुनौतीहरू अझै कायम रहेको संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *