काठमाडौँ । नेपालकी पलेशा गोवद्र्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्यपदक जितेकी छन् ।
मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कास्यपदक जितेकी हुन् । पहिलो चरणमा बाइ पाउँदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसँग पराजित भएपछि कास्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसँग चुके ।
अब अमीर र रेणु उलानबटारमै मङ्गलबारदेखि हुने आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुनेछन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुनेछन् ।
पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन् । पलेशा विश्व¥याङ्किङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छन् ।
