पञ्चकन्या सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लब बुटवललाई

लुम्बिनी । ‘पञ्चकन्या रूपन्देही सुपरलिग’ को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको २४औँ संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत सिजनको सुपरलिग पनि वेष्टर्नले नै जितेको थियो ।

उपाधि विजेता वेष्टर्नले एक लाख एक र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार एक प्राप्त गर्यो । टस जितेर ब्याटिङमा आएको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १८२ रन बनायो । उसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रञ्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष गौतम र सागर गैरेले समान १०–१० रन बनाए ।

बलिङमा लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ३, अजयकुमार चौहान र शाह आलमले २–२ तथा शङ्कर राना र सुजन रानाभाटले १–१ विकेट लिए । जवाफी ब्याटिङमा आएको लुम्बिनी खुकुरी २४ ओभर ५ बलमा १३७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिशेष गौतमले ८ ओभर ५ बल बलिङ गर्दै २ मेडनसहित ३६ रन खर्चेर सर्वाधिक ७ विकेट लिए ।

सुझाव थापाले ३ विकेट हात पारे । खुकुरीका समीर अली मुसलमानले ६७ र शङ्कर रानाले ४७ रन बनाए अन्य ब्याटर नचल्दा टिम उपाधि चुम्नबाट चुक्यो । अभिशेष गौतम म्यान अफ द फाइनल भई रु एक हजार २०० प्राप्त गरे ।

प्रतियोगितामा वेष्टर्नका अभिशेष गौतम म्यान अफ द सिरिज भई रु १५ हजार प्राप्त गरे । मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपीन आचार्य वेष्ट ब्याटर, मेलवर्नकै अशोक धामी वेष्ट बलर र वेष्टर्नका सुझाव थापा उदयीमान खेलाडी घोषित भए । उनीहरू तीन जनाले जनही पाँच हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *