एजेन्सी । आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी बर्नामाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले अन्तिम खेल अगावै उपाधि जितेको हो ।
भिटालिटी स्टेडियममा भएको खेलमा बर्नामाउथको लागि जुनियर क्रौपी र म्यानचेस्टर सिटीको लागि इर्लिङ ब्राउट हालान्डले समान एक/एक गोल गरे । खेलको ३९ औँ मिनेटमा क्रौपीले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा हालान्डले गोल गर्दै सिटीको हार टारेपनि उपाधि दौडबाट बाहिरिएको हो ।
बराबरीसँगै सिटी ३७ खेलबाट ७८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ५६ अंक जोडेको बर्नामाउथ छैटौँ स्थानमा रहेको छ । आर्सनल ३७ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ । अन्तिम खेलमा आर्सनल पराजित भएर सिटीले जित निकालेपनि सिटीको ८१ अंक हुनेछ । जुन आर्सनल भन्दा एक अंक कम रहनेछ ।
आर्सनलले यसअघि २००३/०४ सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो । यससँगै आर्सनलले समाग्रमा चौथोपटक लिगको उपाधि जितेको छ ।
