नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ मृत फेला परेका हुन् । उनीहरूको शव किम्ताङ खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक व्यक्तिले गएराति फोनमार्फत आफूले हत्या गरेको जानकारी दिँदै घटनास्थलसम्बन्धी सूचना दिएको थियो । सोही सूचनाका आधारमा खोजतलास गर्दा शव फेला परेको हो ।
“आर्थिक लेनदेनको विवादका कारण हत्या गरेर आफू फरार भएको भन्ने जानकारी आएको छ,” प्रहरी नायब उपरीक्षक लामाले भने, “घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ । पक्राउपछि थप विवरण खुल्नेछ ।”
फोन गर्ने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मङ्गलबार बिहान कुलो निर्माणको काममा जाने भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।
घटनास्थल सडकबाट करिब पाँच घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि बुधबार साँझ त्रिशूली अस्पताल ल्याउने तयारी गरिएको छ ।
