नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उनले बताए। सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
त्यसैगरी प्रहरीले नेपालगन्जमा करिब रु तीन लाख ४६ हजार बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ । नेपालगन्जको वडा नं ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने यूपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नं को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सबैसामान भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
