काठमाडौँ । हुन त अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउनु कुनै नौलो विषय होइन । किनकी दर्जनौं अमेरिकी उच्च अधिकारीहरु वर्षेनी नेपाल भ्रमणमा आउँछन् । अझ भन्ने गरिन्छ कि हप्तामा कम्तीमा एउटा अमेरिकी सेनाको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने गर्छ । सायद उच्च अधिकारीहरुलाई लिएर नै सेनाको विमान आउने होला । विगतका सरकारका पालामा पनि अमेरिकी उच्च अधिकारी नेपाल आउँथे र अहिले पनि । तर बालेन साह नेतृत्वको सरकार गठन भएपछि भने अन्य मुलुक भन्दा अमेरिकी चासो बढी देखिएको छ । नयाँ सरकार गठनलगत्तै वैशाख पहिलो साता दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आएका थिए । तीनदिने भ्रमणमा आएका कपुरले रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरे । सत्तारुढ दलका यी नेताबाहेक उनले न प्रधानमन्त्री भेटे न त अन्य दलका शीर्ष नेता । विगतमा उनीभन्दा कनिष्ठ अधिकारी नेपाल भ्रमणमा आउँदा शीर्ष नेता, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भेट हुने गरेको थियो । अरुलाई त भेटेनन् भेटेनन्, कपुर र प्रधानमन्त्री बालेन साहबीच पनि भेट भएन । प्रधानमन्त्रीले कपुरसँग भेट्न नचाहेका हुन् कि कपुरले नभेटेका हुन्, यसबारे भने उनीहरु नै जानुन् । तर यहाँ भने प्रधानमन्त्रीले आफ्नो पोर्टफोलियो भन्दा तलका नेतासँग नभेट्ने अडान लिएको भन्दै हल्ला गरिएको छ ।
कपुर फर्किएपछि दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर बिहीबार साँझ काठमाडौँ आए । उनी पनि तीन दिने भ्रमणका लागि नेपाल आएका थिए । उनले पनि परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरे । कपुरले जस्तै गोरले पनि अरुलाई भेटेनन् । उनको पनि प्रधानमन्त्री बालेनसँग भेटवार्ता भएन । गोरले जजसलाई भेटे, भेटको सबै तस्बिर अमेरिकी दूतावासले आफ्नो फोसबुक पेज र गोर आफैंँले फेसबुकमा पोष्ट गरेका थिए । तर प्रधानमन्त्री बालेनसँग भेट गरेको भए त्यो फोटो पनि हाल्ने थिए । तर यसबाट पनि पुष्टि हुन्छ कि गोर र प्रधानमन्त्री बालेनबीच पनि भेट भएन ।
तर रवि लामिछानेसँगको भेटपछि विशेष दूत गोरले सामाजिक संजालमा लेखे, ’राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लाग्यो। संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल गरियो। नेपालमा नयाँ सरकारले परिवर्तनका लागि उल्लेखनीय जनादेश प्राप्त गरेको छ र उसले घोषणा गरेका सुधारहरू निकै आशाजनक देखिएका छन्। आगामी दिनमा नजिकबाट सहकार्य गर्न हामी उत्सुक छौं।’
तर एकाथरीले गोरलाई प्रधानमन्त्रीले भेट्न नचाहेको र अर्कोथरीले गोरले प्रधानमन्त्रीलाई भेट्न नचाहेको भन्दै व्याख्या विश्लेषण पनि गरिएका छन् ।
प्रधानमन्त्री बालेन साहले प्रधानमन्त्री भएपछि सामूहिकरुपमा कूटनीतिक नियोगका प्रमुखहरुलाई भेटेका थिए । त्यसपछि उनले छुट्टाछुट्टै कुनै राजदूत वा विदेशीलाई भेटेको सार्वजनिक भएको छैन । यो बीचमा भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल आउन लागेका तर प्रधानमन्त्री बालेन साहले भेट नदिने भएपछि भ्रमण स्थगित भएको खबर पनि सार्वजनिक भएका छन् । प्रधानमन्त्रीले आफ्ना समकक्षी मात्र भेट्ने र अरुलाई नभेट्नु कूटनीतिक महानता हो त ? हुन त प्रधानमन्त्रीले विदेशी कूटनीति अधिकारीहरुलाई नभेटेपनि विभिन्न देशका राजदूतहरुले भने मन्त्रीका कार्यकक्षमा गएर भेटेका तस्बिर दिनदिनै आउने गरेका छन् ।
प्रधानमन्त्रीले यसरी विभिन्न देशबाट आएका उच्च अधिकारीलाई नभेट्नु सही कि गलत ? यसबारेमा सामाजिक संजालमा विभिन्न बहस भइरहेको छ । एकाथरीले प्रधानन्त्रीले ठिक गरे र अर्कोथरीले गलत गरे भन्नेहरु छन् । उनीहरुलाई प्रधानमन्त्रीले भेट्दा हाम्रा प्रधानमन्त्रीको कद घट्ने र नभेट्दा बढ्ने हो त ? यस विषयमा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले सामाजिक संजालमा सानो टिप्पणी गरेका छन् । पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विशेष दूत गोरको भेटलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।
यस्तो छ पाण्डेको टिप्पणी
दक्षिण र मध्य एसियाका लागि राष्ट्रपति ट्रम्पका विशेष दूत तथा भारतका लागि आवासीय अमेरिकी राजदूत सर्गियो गोर नेपाल भ्रमणबाट फर्केका छन् । ३९ वर्षीय सर्गियो गोर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिन्छन्। उनी आफ्नो कार्यकाल सम्हाल्न नयाँदिल्ली पुग्ने बित्तिकै भारतका प्रधानमन्त्रीले स्वागत भेट गरेका थिए । प्रस्तुत तस्बिर केही महिना अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक्सबाट साभार हो। यो त्यस बखतको हो, जब राजदूत गोरले भारतका राष्ट्रपतिसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पनि प्रस्तुत गरेका थिएनन्।
ओहदाको प्रमाणपत्रसमेत पेश नगरी प्रस्तावित राजदूतलाई भेट्नु कूटनीतिक परम्परामा अपवाद घटना हो, र यसले प्रधानमन्त्री मोदीले राजदूत गोरलाई दिएको विशेष महत्व जगजाहेर गर्छ। वाशिङ्टनस्थित एक जानकार स्रोतले मलाई बताए– ‘सर्गियो गोरलाई ह्वाइट हाउस र अमेरिकी राजनीतिक सर्कलमा ‘A man who prefers to keep a low profile but actually is quite competent and influential in US power circles’’ (लो प्रोफाइल राख्न रुचाउने तर अमेरिकी शक्ति केन्द्रहरूमा प्रभावशाली व्यक्ति) का रूपमा चिनिन्छ।’ राजदूत सर्गियो गोर श्रीलंका भ्रमणमा जाँदा श्रीलंकाका राष्ट्रपति र भुटान जाँदा भुटानका नरेशले स्वागत भेट गरेका थिए । नेपाल, विश्व तथा क्षेत्रीय राजनीतिमा व्यापक उथलपुथल हुँदै गरेको वर्तमान समयबारे नयाँ दिल्लीस्थित एक राजनयिकको संक्षिप्त टिप्पणी रोचक छ— ‘We will see.No rush’

