प्रधानमन्त्री ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद छन् : सचेतक विशाल भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन्।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको जिकिर गरेका हुन्।

संसदमा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईको भनाइ छ।

उनले भने,‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दावाका साथ भन्छु-उहाँ बहुमतमा हुनुहुन्छ। आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं। उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन्।’

उनले जनताले नेकपालाई झण्डै दुई तिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरू भएको सुनाए।

उनले भने,‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरू भयो, यसको आभाष पाउनेबित्तिकै उहाँसँग दुई वटा विकल्प थिए, एउटा आत्मसमर्पण गर्ने, अर्को संसद विघटन गर्ने, यो बाहेक उहाँसँग अर्को विकल्प थिएन।

उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो।’

सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उनले सुनाए।

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *