रास्वपाले पोखरेल र सुनारमाथि कस्तो एक्सन लिन्छ होला ?(भिडियो)

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणाम आउँदै थियो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अभूतपूर्वरुपमा परिणाम आइरहेको थियो । उनीहरुको भाषामा उनीहरुले नसोचेकै परिणाम आइरहेको थियो । जितिसकेका कतिपय रास्वपाका केही सांसद भने आफ्नो रवाफ देखाउन थालिसकेका थिए । कोही अस्पतालमा जाने त कोही सरकारी कार्यालयमा गएर निर्देशन दिन । अझ सबै निर्वाचन परिणाम आइसके पछि त रास्वपाका केही सांसद उन्मत्त नै देखिए । रास्वपाकी सांसद आशिका तामाङले धादिङका स्थानीय तहलाई सडक कर नउठाउन चेतावनी दिइन् । उनको चेतावनीपछि धादिङका १३ वटा स्थानीय तहले उनको प्रतिवाद गरे ।

त्यस्तै रास्वपाका अर्का सांसद खगेन्द्र सुनारले आफूलाई शिक्षकले पढाउँदा कान समातेर उठबस गर्न लगाएको भन्दै अब शिक्षकलाई पनि त्यस्तै गर्नुपर्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भयो । यी घटना अभिमुखीकरण कार्यक्रमअघि सार्वजनिक भएका थिए । आफ्ना पार्टीका सांसदका हर्कत पार्टी सभापति रवि लामिछानेले नियालिरहेका थिए । रास्वपाले चैत पहिलो साता पार्टीका सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम राख्यो । कार्यक्रममा सभापति लामिछानेले सांसदहरूलाई अनुशासन उल्लंघन गरेमा फिर्ता बोलाउने चेतावनी दिए । पार्टीमा अनुशासन अत्यावश्यक रहेको भन्दै सभापति लामिछानेले सांसदहरूले अनुशासन उल्लंघन गरेमा पदबाट फिर्ता बोलाउने बताएका हुन् । उनले भने, ’सरकार करिब दुई तिहाइको बन्दैछ, संख्या घट्ला, अल्पमतपमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको ’राइट टु रिकल’को व्यवस्था यसपटक कडाइका साथ लागू गर्नेछ ।’ रास्वपाको विधानको दफा ६९ मा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ थियो ।

सभापति लामिछानेले अनुशासन कायम गर्न सांसदहरुलाई यस्तो बताएपछि रास्वपाका सांसदहरुका यस्ता गतिविधिमा कुनै कमी आएको छ्रैन । नेपाल प्रहरीका पूर्वएआईजीसमेत रहेका विश्वराज पोखरेल जो ओखलढुंगाबाट रास्वपाबाट निर्वाचित सांसद हुन्, उनले एउटा विद्यालयका प्रधानाध्यापकलाई गरेको व्यवहारको भिडियो सार्वजनिक भएको छ । यो हेर्दा लाग्छ उनी सांसद हुन लायक नै रहेनछन् ।

हेर्नुस् त पोखरेलको अभिव्यक्ति तपाईँलाई कस्तो लाग्छ ?

त्यसैगरी रास्वपाका अर्का सांसद खगेन्द्र सुनारले सिन्धुलीमा हिरासतभित्र दलित युवकको मृत्यु भएको विषयलाई लिएर यस्तै अराजक अभिव्यक्ति दिएका छन् । सांसद सुनारले एसपीलाई घिसारेर लैजाने भन्दै धम्की दिएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका श्रीकृष्ण बिक गत वैशाख ७ गते मृत भेटिएका थिए । घटनाको अनुसन्धान जारी छ । तर, सांसद सुनारले प्रहरीले हिरासभित्र बिकको हत्या गरेको ठोकुवा गर्दै सीडीओ र प्रहरी प्रमुखलाई कारवाही हुनुपर्ने, अन्यथा आफूले नै एसपीलाई घिसारेर लैजाने धम्की दिएका हुन् ।

हेर्नुस् सुनाको अभिव्यक्ति

गल्ती गर्नेमाथि कारबाही हुनुपर्छ । त्यसमा कसैको दुईमत नहोला । तर सांसद भएँ मनपरी गर्दै हिँडे के होला ? शिक्षकले कुनै गती गरेको भए कारबाही गर्दा हुन्छ । तर सांसदलाई मानमनितो गर्न नआएको भन्दै पोखरेलको गरेको व्यवहार सांसद हुन लायक पक्कै देखिएन । सुनार यस्ता अभिव्यक्ति दिँदै आएका पात्र हुन् । अब रास्वपामाथि प्रश्न उठेको छ, के यस्ता सांसदलाई रवि लामिछाने भनेजस्तो फिर्ता बोलाउने कि यस्ता गतिविधि गर्न छुट दिइरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *