काठमाडौँ । विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित नेपाली टुर गाइड राजकुमार राईले करिब ६०० किलोमिटर लामो अन्तरदेशीय पदयात्रा शनिबार सुरु गरेका छन् ।
सङ्खुवासभाको सिलिचोङ–२ निवासी पर्यटन गाइड तथा कन्टेन्ट क्रिएटर रायले काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तूपबाट भारतको दार्जिलिङस्थित डाली गुम्बासम्म पैदल यात्रा थालेका हुन् ।
करिब २० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त यात्रामार्फत विश्वमा बढ्दो अस्थिरताबीच नेपाललाई शान्तिको प्रतीकका रूपमा प्रस्तुत गर्ने उद्देश्य लिइएको छ।
उनको यस अभियान “नेपालका जेनजी शहीदहरूको सम्झना, नेपाल–भारत मैत्री तथा विश्व शान्ति” लाई समर्पित रहेको जनाइएको छ ।
भोट विज्ञ पुण्यप्रसाद पराजुलीले औपचारिक रूपमा पदयात्रा सुरु गर्ने क्रममा राईलाई खादा अर्पण गर्दै शुभकामना दिएका थिए । नेपाल समाज मिडियाका सल्लाहकारसमेत रहेका पराजुलीले शान्तिको सन्देश फैलाउन पैदल यात्रा गर्नु ठूलो साहस भएको उल्लेख गरे ।
“विघ्नबाधा हटून्, सफलताको शुभकामना । विश्व शान्तिका लागि लामो पैदल यात्रा गर्नु अत्यन्तै महत्वपूर्ण कार्य हो,” पराजुलीले स्तूपा परिसरमा भने ।
राईले आफ्नो यात्रालाई २०७२ सालको विनाशकारी भूकम्पको सम्झना र विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रका पीडितप्रति सम्मान व्यक्त गर्ने भावनासँग जोडिएको बताए ।
“यो यात्रा विश्व शान्तिका लागि समर्पित छ । संकटको समयमा एकताको सन्देश दिन र नेपाललाई शान्तिपूर्ण राष्ट्रका रूपमा चिनाउन चाहन्छु,” राईले भने ।
उनका अनुसार करिब ६०० किलोमिटर लामो उक्त यात्रा नेपाल र भारतका विभिन्न सांस्कृतिक तथा आध्यात्मिक क्षेत्रलाई जोड्नेछ । यसअघि उक्त मार्गमा कसैले पूर्ण रूपमा पैदल यात्रा नगरेको उनको दाबी छ ।
यात्राको तयारीस्वरूप उनले विभिन्न सहनशीलता परीक्षण पदयात्रा पनि पूरा गरिसकेका छन् । उनले बौद्ध–दक्षिणकाली–बौद्ध तथा सिमलटार–गोदावरी–सिमलटार मार्गमा ४४ किलोमिटरका दुई अभ्यास यात्रा सम्पन्न गरिसकेका छन् भने अब सिमलटार–धापडाम–सिमलटार मार्गमा तेस्रो अभ्यास गर्ने तयारी गरेका थिए ।
राईले आफ्नो सम्पूर्ण यात्रा अभिलेखीकरण गरी डिजिटल माध्यमबाट सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
दार्जिलिङको डाली गुम्बालाई अन्तिम गन्तव्यका रूपमा रोजिएको उनले बताएका छन् । उक्त गुम्बामा ठूलो संख्यामा बौद्ध अनुयायीहरूको आगमन हुने भएकाले शान्ति यात्राका लागि उपयुक्त गन्तव्य ठानेको उनको भनाइ छ ।
यस अभियानमार्फत राईले आफ्नो शारीरिक क्षमता परीक्षण गर्नुका साथै शान्ति, सहिष्णुता र नेपाललाई विश्वमा सद्भावको दूतका रूपमा स्थापित गर्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिएका छन् ।

