सुकुम्बासीमाथि डोजर चलाउन हतार नगरियोस्ः पूर्वमन्त्री किराती

काठमाडौँ । पूर्वमन्त्री सुदन किरातीले सुकुम्बासी समस्या डोजरले नभएर दृष्टिकोणले समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँका सुकुम्बासी बस्ती हटाउने सरकारले तयारी गरेपछि शुक्रबार सामाजिक सञ्जालमार्फत किरातीले प्रधानमन्त्री बालेन साहलाई सुकुम्बासी बस्तीमा डोजर चलाउन हतार नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘सरकार ! सुकुम्बासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस् । सुकुम्बासीमाथि डोजर चलाउनु किन हतार ? संवाद, समय र वैकल्पिक व्यवस्था गर्नेबारे किन सोचिएन ?’

उनले सुकुम्बासी समस्या समाधानका लागि विभिन्न उपाय सुझाएका छन् । उनले भनेका छन्, ‘वास्तविक सुकुम्बासी छुट्याउने (डाटा/सर्वेक्षणमा आधारित), पानी, बिजुली, शिक्षा सहित व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न सकिन्छ, किस्ताबन्दी मोडेलमा आवास सस्तोमा उपलब्ध गराउन सकिन्छ, सहकारी/ल्यान्ड पूलिङ गरि सबैलाई समेट्ने साझेदारी मोडेल बनाउन सकिन्छ, रोजगारीको लागि सीप विकास गराई आम्दानीसँग जोडेर पुनस्र्थापना गर्न सकिन्छ, सम्वाद, सहमति र निश्चित समयसीमा सहित चरणबद्ध कार्यान्वयन गर्न सकिन्छ, बलियो सरकार संधै विवादमा किन पर्छ ?’

उनले हतारमा गरिएको निर्णयले दुर्घटना निम्तन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘सम्झनु पर्ने कुरा, बलियो हुनु मात्र सबै थोक होइन मुख्यत न्यायपूर्ण, संवेदनशील र दूरदर्शी हुनु आवश्यक हुँदोरहेछ । सरकार ! स्मरण रहोस् इतिहास फेरि नदोहोरीयोस् । गिरिजा सरकार ३६ सिटे र ७२ सिटे हुँदै मध्यावधी निर्वाचनको घोषणासँगै अस्थिरतामा गयो । प्रचण्ड सरकार कटुवाल काण्डबाट अल्झियो । झण्डै दुई तिहाइको ओली सरकार गुठी प्रकरणले जनविश्वास गुमायो । बालेन साह नेतृत्वप्रति पनि प्रश्न उठिरहेको छ । किनकी ‘यो देश हाम्रो पनि हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *