सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैनः महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सुकुम्बासी बस्ती खाली गर्न प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएको विषयले सरकारको असली चरित्र उदांगो भएको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत सचिव बस्नेतले निर्वाचनको मुखमा रास्वपा सभापति रवि लामिछानेले ‘सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु’ भनेर ठूलो भाषण दिँदै प्रतिवद्धता जाहेर गरेको कुरा कहाँ गयो भन्दै प्रश्न गरेका छन् ।

बस्नेतले भनेका छन्, ‘सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र साहले ‘शनिबार या आइतबार भित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर’ भन्दै उर्दी जारी गरेछन । यो निर्णयले सरकारको असली चरित्र नांगो बनाएको छ ।केही समय अघि निर्वाचनको मुखमा उहाँकै दलका सभापति रवि लामिछानेले “सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठूलो भाषण दिदै प्रतिवद्धता जायर गर्नुभएको थियो । आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषणमा मात्रै सीमित हो त ?’

सचिव बस्नेतले सुकुम्बासी समस्या लखेटेर नभई व्यवस्थित गरेर समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘ए साथीहरू हो, सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने हो ? गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने हो ? सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल चामल खोस्ने ? यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो ।’

उनले जनविरोधी काम गरिरहे सरकार चाँडै बिदा हुने चेतावनी दिए । उनले भनेका छन्, ‘विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ यो सरकार लोकतान्त्रीक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो । यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन् । जनताको धैर्यको सीमा हुन्छ । यस्तै चाल हो भने, यो बालेन सरकार चाँडै जनताको मनबाट मात्रै होइन, सत्ताबाट पनि गलहत्तिएर बिदा हुने दिन टाढा छँदै छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *