सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेकाले ध्यान दिन महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा ओपीडी सेवा नखुम्च्याउन सरकारलाई आग्रह गरेका छन् ।

सरकारी अस्पतालमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको भन्दै यसो नगर्न आग्रह गगरेका हुन् ।

उनले भनेका छन्, ‘केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ । सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ ।’

उनले विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा आफूले अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको, सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपीडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र एक्सटेण्डेड स्वास्थ्य सेवामार्फत सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका कामहरू सुरुवात गरेको उल्लेख गरेका छन् ।

उनले स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेका र अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको उल्लेख गरेका छन् ।

सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने भन्दै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने नभई यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

उनले  हिजो आफूले सुरुवात गरेका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध गररेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *