चिनियाँ १५औँ पञ्चवर्षीय योजनाबाट नेपालले लाभ लिनुपर्नेमा जोड

काठमाडौँ । सीजीटीएन नेपाली सेवाले नेपालको साइनो नेपाल मिडिया सोसाइटीसँग मिलेर चीनले १५औँ पञ्चवर्षीय योजना कार्यान्वयन गरेसँगै यसले लिएको नीति र नेपालमा पार्ने प्रभाव सम्बन्धमा शुक्रबार अनलाइन गोष्ठीको आयोजना गरेको छ ।

गोष्ठीमा नेपालबाट नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल, चीन नेपाल सम्बन्धका जानकार तथा अन्तरर्राष्ट्रिय मामिलाविद् डा, रूपक सापकोटा, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक डा. बलराम दुवाल, र जनआस्था अनलाइनका सम्पादक राजेन्द्र रिमालले सहभागिता जनाएका थिए ।

कार्यक्रम नेपालको विकासमा चिनियाँ १५औँ पञ्चवर्षीय योजनाको लाभका विषय केन्द्रित थियो । कार्यक्रममा सहभागी वक्ताहरूले चीनको नयाँ योजनाले औद्योगिक आधुनिकीकरण, प्राविधिक आत्मनिर्भरता र आन्तरिक माग विस्तारमा जोड दिँदै उक्त योजनाबाट नेपालले अधिक लाभ लिनसक्ने सम्भावना रहेको बताएका थिए ।

कार्यक्रमको आरम्भ चाइना मिडिया ग्रुप, सीएमजीका महानिर्देशक शन हाइस्योङको भिडियो सन्देशबाट भएको थियो । उनले आफ्नो सन्देशमा चीन हेर्ने महत्वपूर्ण झ्याल मानिने दुई अधिवेशनमा १५औँ पञ्चवर्षीय योजना पारित भएको र २० वटा मुख्य इन्डिकेटर र ६ वटा क्षेत्रमा १०९ वटा मुख्य परियोजना प्रस्ताव रहेको बताए। उनले चीनको जीडीपी ४.५ देखि ५ प्रतिशतसम्म रहने उल्लेख गरे ।

चीनको उच्च गुणस्तरीय विकासले विश्वलाई अवसरका नयाँ सूचिहरू उपलब्ध गराएको पनि बताए । उनले सीजीटीएनको एक सर्वेक्षणको उल्लेख गर्दै, ८० प्रतिशत सहभागीले चीनको उच्च गुणस्तरीय विकासको दृष्टिकोण र योजनाले आजको जटिल विश्वमा विश्व आर्थिक क्षेत्रलाई सहयोग पुगेको बताए । चीनले आफ्नो खुलापनको ढोका अझै विस्तार गरेको औँल्याउँदै चीनको नव गुणस्तरीय बल तथा एआईले मानव विकासमा नयाँ अध्याय लेख्न तत्पर रहेको बताए ।

विकासका लागि चीन विश्वबाट अलग रहन नसकिने भन्दै चीनको समृद्धि पनि विश्वलाई आवश्यक भएको भन्दै उनले विश्व शान्ति तथा विकास र साझा भविष्य सुमदायको विकासमा हातेमालो गर्न आग्रह गरे ।

सीएमजीका महानिर्देशक शन हाइस्योङको भिडियो सन्देशपछि छिङह्वा विश्वविद्यालयमातहतको चीन विकास योजना अनुसन्धान संस्थानका सहायक निर्देशक विशेषज्ञ ली चले १५औँ पञ्चवर्षीय योजना सम्बन्धमा आफ्नो मन्तव्य राखे ।

विशेषज्ञ ली चले चीनको विकास योजनाबारे अर्थात् १५औँ पञ्चवर्षीय योजना र यसको लक्ष्य साथै चीनको साथमा विश्वले के कसरी फाइदा लिन सकिन्छ भन्ने कुरा व्यक्त गरे ।

उनले लक्ष्य स्पष्ट रहेको भन्दै २०३० सम्ममा चीनले आर्थिक, प्राविधिक क्षमता र समग्र राष्ट्रिय शक्तिमा ठूलो प्रगति गर्ने बताए । साथै उनले यो चीनको मात्र लक्ष्य नभएर यसले विश्व अर्थतन्त्रमा पनि फाइदा पुर्याउने औँल्याए ।

१५औँ पञ्चवर्षीय योजनामा ‘उच्च–स्तरीय खुलापन विस्तार’भन्ने पूरा अध्याय रहेको र चीनको खुलापन एकल यात्रा नभएर विश्वसँगको सहयात्रा भएको पनि बताए ।

उनले १५औँ पञ्चवर्षीय योजनामा ‘आधुनिक औद्योगिक प्रणाली’लाई धेरै महत्वपूर्ण स्थानमा राख्ने बताए । उनले मरुभूमिहरूलाई ‘ऊर्जा महासागर’मा बदल्न सोलार र हावाबाट ऊर्जा प्रयोग गर्ने बताए । ‘यी सबै नयाँ प्रविधिहरूले हाम्रो जीवनलाई राम्रो बनाउन मद्दत गर्नेछन्। २०२३० सम्म, एआईसँग सम्बन्धित उद्योगहरू १.४ ट्रिलियन डलरभन्दा बढी वृद्धि हुने अनुमान छ। त्यो एउटा भव्य अवसर हुनेछ।’उनले भने ।

उनले नेपाली कृषि उत्पादनहरूले चिनियाँ बजारमा प्रवेश पाउने पनि औँल्याए । उनले भने, ‘नेपाल र पाकिस्तानका केही कृषि उत्पादनहरू कम लागतमा र बढी प्रतिस्पर्धात्मक रूपमा चिनियाँ बजारमा प्रवेश गर्नेछन्। चिनियाँ उपभोक्ताहरू उच्च गुणस्तरको कृषि उत्पादनका लागि पैसा तिर्न इच्छुक छन्। अगाडिका पाँच वर्षमा, हामी एशिया र अफ्रिकाका बढीभन्दा बढी कृषि उत्पादनहरू महासागर पार गर्दै चीनका पारिवारिक डिनर टेबलमा देख्नेछौँ।’

यसैगरी, नेपाली अतिथि वक्तामध्ये, नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विगतको चीन र चीनका योजनाहरू केलाउँदै विकासपथमा कसरी लम्किएको छ भन्ने कुरा औँल्याउँदै नेपालमा राजनीतिक अस्थिरताले नेपाली योजना र लक्ष्य असफल भइरहेको बताए ।

उनले चीनले सन् १९५३ बाट यस्तो योजनाबद्ध विकासको अभ्यास सुरु गरेको र तीव्र गतिमा विकासको फड्को मारेको उल्लेख गर्दै नेपालमा पनि स्थिर सरकार रहे यसरी विकासको फड्को मार्न सकिने औँल्याए । उनले भने, ‘हाल, नेपालमा १६ औँ पञ्चवर्षीय योजना लागु भएको छ। तर, हाम्रो समस्या भनेको राजनीतिक अस्थिरता हो। नेपालमा कुनै पनि सरकारले ५ वर्ष कार्यकाल पूरा गर्न सकेको छैन। राजनीतिक स्थिरता भयो भने आशा गर्न सकिन्छ।’

‘समग्र रूपमा, चीनले सधैँ नै नेपाललाई समर्थन गरिरहेको छ, तर नेपालले यसलाई परिणाममुखी बनाउन सकेको छैन। चिनियाँ योजनाबाट पनि नेपाली योजनाले कसरी व्यवाहरिक र परिणाममुखी बनाउन सकिन्छ त्यो सिकोस् भन्ने चाहन्छु।’, उनले भने ।

चीन नेपाल सम्बन्धका जानकार तथा अन्तर्राष्ट्रिय मामिलाविद् डा. रूपक सापकोटाले चिनियाँ पञ्चवर्षीय योजना अवसर र चुनौतीहरूको सोचबाट तयार पारिएको बताए। उनले विश्वमा घटेका घटनाहरू अन्तरसम्बन्धित रहेको भन्दै सबै देशहरूसँग यसले सरोकार राख्ने औँल्याए । उनले भने, ‘चीन अहिले बलियो र विकसित अर्थतन्त्रबाट नविनतम र श्रेष्ठ प्रविधिमा आत्मनिर्भर रहेर साथै विश्वलाई समेत लाभ दिनसक्ने हिसाबले अगाडि बढेको छ। आजको संकट र अभावमा चीनको योजना र चीनको नव उत्पादन बलले नेपालसहित दक्षिण गोलाद्र्धलाई ठूलो सहयोग पुग्ने छ।’

‘सुमधुर राजनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धमा चाहे अनुरूप बढाउन नसकेकोले यो योजनामार्फत् फेरि पनि चीनको महत्त्वपूर्ण सहयोग र समर्थन लिन सकिन्छ। सुमधुर राजनीतिक सम्बन्धलाई के कारण आर्थिक सहकार्यमा बदल्न सकेका छैनौँ, त्यो महसुस हामी सबैले गरेका छौँ, चीन र नेपालको आर्थिक सहकार्य, बेल्ट एण्ड रोड सहकार्यमा मिलेर सबै अगाडि बढ्न सकिन्छ भन्ने सबैजसो राजनैतिक पार्टी पुगेको छ, त्यो बिन्दुलाई जोडेर यो पञ्चवर्षीय योजनामा अगाडि बढ्न बुद्धिमानी हुन्छ,’ उनले भने ।

उनले चिनियाँ प्रविधिको समर्थनको माग राख्दै कृषि क्षेत्रको आधुनिकीकरणमा चिनियाँ प्रविधि भित्राउनु अत्यवाश्यक रहेकोमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक डा. बलराम दुवालले योजना निर्माणदेखि नै नेपालले सिक्नुपर्ने औँल्याए । उनले वर्तमान चीन बलियो जग र पूर्वाधारमा उभिएको भन्दै चीनको समाजवादी आधुनिकीकरण अभियानलाई आधारभूत रूपमा सुनिश्चितता प्रदान गर्न जनता पहिलो, उच्च गुणस्तरीय विकास प्राप्ति, समग्र सुधारलाई थप गहिरो बनाउने, प्रभावकारी बजार र असल सरकारको प्रवद्र्धन तथा विकास र सुरक्षाको सुनिश्चितता दिने भएको बचाए । उनले चिनियाँ विकास नेपालका लागि अवसरै अवसर भएको पनि बताए । उनले भने, ‘चिनियाँ समाज क्रमशः अध्यम आर्थिकस्तरमा विकास गर्दै गएपछि वैदेशिक भ्रमणमा जाने चिनियाँहरूको संख्या अधिक हुने जसले गर्दा नेपालमा खर्चालु चिनियाँ पर्यटक भित्र्याउने अवसर मिल्ने छ।’

चीनले अगाडि सारेको वैश्विक विकास पहल, वैश्विक सुरक्षा पहल, वैश्विक सभ्यता पहल तथा वैश्विक सुशासन पहलले विश्वमा सन्तुलसत, समावेशी र दिगो विकास प्रवद्र्धन गर्ने लक्ष्य लिएको पनि बताए ।

यसैगरी, जनआस्था अनलाइनका सम्पादक राजेन्द्र रिमालले चीनको विकास मोडेलको एक प्रमुख विशेषता भनेकै पञ्चवर्षीय योजनामार्फत् गरिने योजनाबद्ध विकास भएको बताए । उनले १५औँ पञ्चवर्षीय योजना सन् २०३५ सम्म समाजवादी आधुनिकीकरण हासिल गर्ने दिशामा एक महत्त्वपूर्ण चरणका रूपमा रहेको पनि बताए । उनले भने, ‘सन् २०२६–२०३० अवधिलाई समेटेको १५औँ पञ्चवर्षीय योजना, सन् २०३५ सम्म समाजवादी आधुनिकीकरण हासिल गर्ने दिशामा एक महत्त्वपूर्ण चरणका रूपमा लिइएको छ। यस योजनामा विगतको तुलनामा उच्च गुणस्तरको विकास, प्रविधिगत आत्मनिर्भरता, हरित रूपान्तरण तथा आन्तरिक माग सुदृढीकरणलाई प्राथमिकता दिने निश्चित छ।’

नेपाललाई चीनको सहयोग सडक सञ्जाल, रेलमार्गलगायतका पूर्वाधार निर्माणमा महत्त्वपूर्ण रहेको भन्दै चीन आर्थिक साझेदारीको एक महत्त्वपूर्ण कोसेढुंगा हुने पनि बताए । उनले भने, ‘दशकौँदेखि नेपाल–चीन सम्बन्ध परम्परागत कूटनीतिक सम्बन्धबाट विकसित हुँदै व्यापक रणनीतिक साझेदारीमा रूपान्तरण भएको छ। सन् २०१९ मा स्थापना गरिएको ‘विकास र समृद्धिका लागि स्थायी मित्रतासहितको रणनीतिक सहकार्य’चीनसँग हुने आगामी दिनको आर्थिक साझेदारीमा एक महत्वपूर्ण कोसेढुंगा हुने निश्चित छ।’
उनले भूपरिवेष्ठित राष्ट्र लाओसको उदाहरण दिँदै नेपालले पनि चीनसँगको सहकार्यबाट लाभ हासिल गर्नसक्ने औँल्याए ।

रिमालजस्तै सबै वक्ताहरूले नेपालको आर्थिक विकासको सहकार्यमा चिनियाँ ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई अँगाल्नुको विकल्प नभएको उल्लेख गरेका थिए ।

सहआयोजक साइनो नेपाल मिडिया सोसाइटीकातर्फबाट सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपाली विज्ञहरूको विचार र विश्लेषणले नेपालले के कसरी लाभ लिनसकिन्छ भन्ने विषयमा अत्यन्त महत्त्वपूर्ण कुराहरू उजागर भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *