किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा रासायनिक मल वितरण गर्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले किसानलाई रासायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरी प्रचण्डले रोपाइँ सकेर मल हाल्ले बेला भइसक्दा पनि किसान मलका लागि छटपटाई रहेकोले आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘यतिखेर रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन् । सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ । हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटील रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ। मेरो नेतृत्वको तत्कालिन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको विदितै छ।’

प्रचण्डले कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘त्यसैले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *