राप्रपामा अराजकता कहिलेसम्म ?

-जनकराज पाठक ।

पार्टी जीवनको इतिहासमै कार्यकर्तादेखि नेतृत्व तहसम्म यत्तिको राजनैतिक अराजकता मैले देखेको थिइनँ । पार्टी कुनै वस्तु वा पदार्थ हो, यसलाई जसरी प्रयोग या उपयोग गरेपनि हुन्छ भन्ने घातक मनस्थिति नेतृत्व देखि कार्यकर्ता तहसम्म प्रस्ट देखिएको छ । नेतृत्व महामन्त्रीदेखि अध्यक्ष । आत्मा साक्ष्ी राखेर भन्दा पार्टीमा नयाँ नेतृत्व स्थापित भएपछि आजका दिनसम्म कहीँ, कतै, कुनै सैद्धान्तिक वा राजनीतिक बहस फिटिक्कै छैन।

नेतृत्वलाई पुत्ला सरहको व्यवहार गर्दै कार्यकर्ता तह यति छाडा भएर नसुहाउँदो तरिकाले सामाजिक संजालमा प्रस्तुत भएका छन् कि यसले हाम्रो हैसियत मात्रै देखिएको छैन लाज पनि लजाएको छ।
हाम्रो विचारको प्रतिनिधित्व गर्ने मूल नायकलाई मानौँ उसको कुनै राजनैतिक हैसियत नभएझै सकेजति खुइल्याइँदै छ भने अर्कोतिर नायक पनि छानीछानी प्रतिशोध साँधेर डण्डा बर्साएर थाकेको छैन । आफू निकायलाई आममाफी अन्यलाई ठाडै कारबाही । परम्परा र विधिको अन्त्य भएको छ।

कसैको मान,अस्तित्व कोही स्वीकार्नेवाला छैनन् । कसले छिटो बोल्ने अनि कसलाई नंगाउने यति छ दैनिकी । लडाईँ, झगडा कुनै सैद्धान्तिक विषयमा पनि छैन, सैद्धान्तिक छलफल र बहस हुँदाा पनि हुँदैन अवस्था यस्तो छ कि कुनै तहको बैठक हुन लाग्यो कि लडाईँ झगडामा तयारी थालिहाल्नु पर्छ। नेता र कार्यकर्ताबीचको अन्तरघुलन नै पार्टी हो अर्थात् नेता र कार्यकर्ता दुवै एउटै घरको अंशियार हुन् भन्ने तथ्य जबसम्म बुझिँदैन तबसम्म अवस्था सुध्रिदैन ।

एकथरी कार्यकर्ता छन् जसले आफूभन्दा जान्ने– बुझ्ने अरुलाई देख्दैन ऊ संरक्षणमा पनि छन् तिनीहरुको सामाजिक संजालले दुनियाँ हँसाएको मात्र छैन, विचारलाई समेत रुवाएको छ अर्को थरि आफ्नो प्रतिरक्षाको नाममा नांगै उपस्थित भएको छन् । कुरा भुइँमा खस्नै नहुने, बोल्यो कि पोल्यो ओहो…भद्दा गतिविधि हेरिसाध्य छैन । मैले पार्टी जीवनकालमा यस्तो कहिले देखेको थिइनँ । न पुरानाको मान,न नयाको सान ! पार्टीको एजेन्डा परिवर्तन गर्न भन्दै बैठक हुन थालेछ, कोही नाम परिवर्तन गरौँ भन्छन्, कोही झण्डा र चिन्ह त हुँदै भएन फेरिहाल्न सुझाव दिन्छन् । तल्लोदेखि उपल्लो तहसम्मले अहिले विचार प्रयोग गर्ने थलो सामाजिक संजाल भएको छ आधिकारिक फोरम या बैठक हैन । हामी हाम्रो विरासत मास्न कम्मर कसेर लागेका छौँ ।
प्रमाणित हुने सय गल्ती नेतृत्वको छ भने सय भन्दा बढी गल्ती कार्यकर्ताको छ । यो दुई बीचको टकरावमा पार्टी चाहिँ मुर्छित भएको छ।

भाद्र २४ गते यो संविधानको औचित्य सकिएको ठहर गर्दै सबै प्रदेश सभावाट माननीयहरुले राजीनामा दिएको निर्णय गरियो र आज अवस्था के छ ? नेता– कार्यकर्ताको यसमा बहस हुँदैन फलस्वरूप यस्ता विषयबाट नेतृत्व सुरक्षित छ । विचारमाथिको बहस पूर्णतः बन्द छ । बहस केवल तँ ठूलो कि म ठूलो, तैँले जानेको कि मैले, कसले कसलाई नंगाउने आदि इत्यादि।

कसैले कसैकोबाारेमा गरेको टिप्पणी नेतृत्वको धारणा बन्छ । कतिको मेसेन्जरमा टिप्पणीको लागि लेखेर पठाइएको देख्ने आँखा छँदै छ । नक्कली नाम खडा गरेर कतिलाई हुर्मत लिन लगाइएको मात्र हैन आफ्नो विरुद्धमा बोल्नेलाई कुटपिट समेत गरिएको कसैवाट छुपेको छैन। कहाँ जाँदैछौँ हामी ? के हुँदैछ राप्रपा भित्र ? यही हो त हाम्रो उद्देश्य र गन्तव्य ? निर्वाचनमा अपेक्षित परिणाम आएन । किन आएन त भन्ने बहस वा समीक्षा समेत हुँदैन न नेतृत्व छलफल गर्न तयार छ न कोही छलफलको माग गर्छन् । चल्तापुर्जा नेतृत्वको घर अखडामा दैनिकजसो कसै न कसैको विरुद्धमा महेफिल जमेकै छ।

बल्लतल्ल १ वर्षमा एउटा आधिकारिक बैठक भइहाले पनि ३ वा ५ मिनेट कार्यकर्तालाई बोल्न पहिले नै फर्मान जारी हुन्छ । त्यही पनि बैठक हलभित्र प्रवेश गर्दा नै लडाइँको मैदान प्रवेश गरेझै गर्नुपर्छ बिचारको बहसले स्थान पाउँदैन । माथिल्लो बैठक हलबाट लोप्रे कान लाएर फर्किना साथ तल कार्यकर्ता उचाल्न थालिहाल्छन् । यस्तो छ हाम्रो वास्तविक हालत । यस्ता सवै विषयको पक्ष– विपक्षमा कराइरहनु पर्ने हाम्रो बाध्यता छ । सैद्धान्तिक रुपमा यति धरापमा हामी हाम्रो जीवनकालमै सायद थिएनौँ । सत्य,यथार्थ यही हो।
हाम्रो बहस हाम्रै अस्तित्व मेटन उद्दत छ । सके पहिलो, नसके दोश्रो नभए शक्तिशाली दलको रुपमा स्थापित हुन्छौँ भन्ने निर्वाचन अगाडिको हाम्रो प्रतिवद्धता खै ? यस्तो किन हुन सकेन यसमा बहस नगर्ने ? कहाँ त्रुटी भयो,के कमजोरी भयो ? छफलफ नै नगर्ने ? के त्यो प्रतिवद्धता सार्वजनिक खपतको लागि मात्रै थियोे ? नचेत्ने,आत्मसमीक्षा नगर्ने ?

यी र यस्ता सवै विषयको अन्त्य गर्न हामीसँग अब एउटा मात्रै उपाय छ त्यो भनेको कार्यकर्ताको ताजा जनादेश अर्थात महाधिवेशन यता हाम्रो ध्यान नजाने ? लाज पनि लजाउने गरि सामाजिक संजाल कति रंगाउने ? लेख्नु र भन्नू निकै थियोे । यो विचार पनि आधिकारिक फोरममै राख्नु पर्ने हो तर त्यो फोरम उपलब्ध हुने लक्षण नै छैन। अनि कहाँ राख्नु ? अब निश्चित छ, रेडिमेट कमेन्ट तयार छन् तेरो वडामा कति भोट आयो ? यस्ता पाखन्डहरुलाई निषेध गरिएको छ।

पाठक राप्रपाका केन्द्रीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *