रोशी क्षेत्रका अवैध खानी र क्रसर उद्योग बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

काभ्रे । गृहमन्त्री सुदन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा मंगलबार अनुगमन–निरीक्षणका क्रममा पनौती नगरक्षेत्रस्थित रोशी क्षेत्र पुगेका छन् ।

उनले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका मापदण्ड विपरीतका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । गिट्टी–बालुवा उत्खनन गरेर बाढीपहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो व्यक्त गरेका हुन् ।

‘पहिलेका राजनीतिक दलले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गरे म कडाइका साथ रोक्छु, अन्य पनि वैध–अवैध तत्कालै छानबिन हुन्छ’, उनले भने ।

मापदण्ड विपरीत अनुमति दिँदा बाढीपहिरो आएर जनधनको क्षति भएको उनको तर्क थियो । गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको भन्दै उनले चासो व्यक्त गरेका हुन् । प्राकृतिक स्रोतको दोहन हुँदा यसको रोकथाममा कसैले तदारुकता नदेखाएकामा उनले असन्तुष्टि जनाए । पनौतीको रोशीखोला क्षेत्रमा दर्जन क्रसर–खानी सञ्चालनमा रहेका छन् ।

गत वर्षको असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको सूचीमा रहेका छन् । नगरको विवरणअनुसार बाढीपहिरोले ५८६ घर पूर्ण रुपमा भएका थिए भने ९४४ वटा घर उच्च जोखिममा रहेको छ ।

यसअघि गृहमन्त्री गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका थिए । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफलसमेत गरे ।

क्षतिग्रस्त सो राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *