सरकारलाई प्रश्न गर्दा मेरो चरित्र हत्या गरियोः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरेका हुन् ।

उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे । उनले भने,‘माथि ‘खाइ न पाइ छालाको टोपीलाई’ भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएको छ । यही संसदमा स्वास्थ्य विभाग छ । स्वास्थ्यकर्मीसहितको विभागको टोली छ । चिकित्सकको टोलीबाट शरीरको प्रत्येक अंग जाँच गरियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मेदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको वा देखिएको प्रमाणित भयो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु ।’

उनले आफूविरुद्ध आरोप लगाउने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । शाहीले सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गरे ।

उनले भने,‘सामाजिक सञ्जालमा भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गर्नेहरूसम्बन्धी कुरा हो । सम्माननीय सभामुख महोदय, म तपाईंको संसदको सदस्य हुँ । संसदको गरिमा र मर्यादा कायम गर्नु मेरो कर्तव्य हो । तपाईं मेरो अभिभावक हुनुहुन्छ ।’

उनले सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि प्रश्न उठाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे ।शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाए ।

उनले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको भन्दै प्रतिपक्षको भूमिकामा रहेकाले सरकारसँग प्रश्न गर्न पाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले प्रतिपक्षले प्रश्न गर्ने बित्तिकै दुई वटा जवाफ आउँछन्, एउटा–केपी ओलीको कार्यकर्ता, अर्को–सरकारलाई काम गर्न दिएन। म अपील गर्न चाहान्छु पहिलो कुरा हामी केपी ओलीका कार्यकर्ता होइनौँ। अहिले सरकार सम्हालिरहेका भन्दा उमेरले सानो भएपनि म राजनीतिमा तपाईंहरुभन्दा पुरानो हो।’

उनले विगतमा समेत सरकारको आलोचना गरेकै कारण आफूमाथि पटक पटक आक्रमण भएको भन्दै सरकारलाई प्रश्न गर्न नछोड्ने बताए ।

हिजो सडकमा हुँदा पनि कमरेड प्रचण्ड र केपी ओलीको नेकपा सरकारको आलोचना गरेकै कारण पटक पटक आक्रमणमा परेर मृत्युको मुखबाट फर्केर आएको भन्दै प्रश्न गर्नबाट पछि नहट्ने बताए ।

उनले आफू सरकार ढाल्ने खेलमा नरहेको भन्दै वर्तमान अंकगणितमा प्रतिपक्षले सरकार ढालेर नयाँ सरकार बनाउन सक्ने अवस्था नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *