प्रतिकूल मौसमका कारण धवलागिरि आरोहण टोली फर्कियो

म्याग्दी । संसारको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि हिमाल आरोहणका लागि आएको टोली प्रतिकूल मौसमका कारण आधार शिविरबाट फर्किएको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर पुगेको ३० जनाको पर्वतारोही टोली बिहीबार तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरतर्फ फर्किएको हो ।

आरोहण टोलीको समन्वय गरिरहेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनका अनुसार असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राखेर टोली सुरक्षित स्थानतर्फ फर्किएको हो ।

‘चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन्,’ शेरचनले भने । केही पर्वतारोही भने हेलिकप्टरबाट पोखरा पुगेका छन् ।

‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेको थियो । बिहीबारदेखि मौसम प्रतिकूल हुन थालेपछि आरोहण स्थगित गरी सुरक्षित स्थानमा फर्किने निर्णय गरिएको शेरचनले बताए ।

मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण म्याग्दीलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेका छन् ।

पर्यटन विभागले सार्वजनिक सूचना जारी गर्दै हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि मौसम अनुकूल नहुँदासम्म आधार शिविरतर्फ नजान अनुरोध गरेको छ ।

चालु शरदयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट चार समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ७७ लाख ८२ हजार ४५० रुपैयाँ सलामी दस्तुर प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागको अभिलेखअनुसार गत वसन्तयाममा तीन समूहका १२ महिला र १६ पुरुष तथा २०८२ को शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका थिए ।

छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती मानिन्छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहण जोखिमयुक्त र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटक पनि फर्किएका छन् । बिहीबारदेखि मौरिस हर्जोग पदमार्गमा पदयात्रा बन्द भएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *