काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले कानुनी राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकले चार वटा निर्णय गरेको छ । बैठकले आमजनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि (चेत १५ गते) १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने र लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहानै ओली गुण्डुबाट पक्राउ परेका छन् ।
यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकलाई कटुन्जेबाट प्रहरीले पक्राउ गरेको छ । आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । नयाँ सरकार गठन भएलगत्तै उनीहरुलाई पक्राउ गरेको हो ।


