काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई पदभार ग्रहण गरेकोमा बधाई दिएका छन्।
शुक्रबार पठाइएको सन्देशमा वाङले चीन र नेपाल परम्परागत रूपमा मित्रवत् छिमेकी राष्ट्र रहेको उल्लेख गरेका छन् । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले सुख–दुःखमा साथ दिँदै आएको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उनले बताएका छन् ।
चीनको कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्यसमेत रहेका वाङले दुवै पक्षबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न मन्त्री खनालसँग मिलेर काम गर्न तयार रहेको जनाएका छन्।
साथै, उनले विकास र समृद्धिका लागि दिगो मित्रतामा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
