काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे आठ बजे बैठक बोलाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् । बैठकले आगामी रणनीति तय गर्ने बस्नेतले बताए ।
यसैबीच सचिव बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि विरोध प्रदर्शन सुरु हुने जानकारी दिएका छन् ।
उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री पक्राउले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘बालेन सरकारद्वारा सुदन गुरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ । सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।’
