प्रधानमन्त्री कपमा आर्मी विजयी

काठमाडौं । त्रिभुवन आर्मी क्लब पुरुष प्रधानमन्त्री कपमा विजयी भएको छ । आइतबार दिउँसो भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गरेको हो ।

तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको आर्मीले बासिर अहमदको सतकको मद्दतमा निर्धारित ४७ ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । आर्मीको लागि बासिरले ८६ बलमा ८ चौका र दुई छक्काको सहयोगमा १ सय रन बनाए । यस्तै भीम शार्कीले ६५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६२ रन बनाउँदा नरेन साउदले २१, त्रित राज दासले १३ तथा इमरान शेख र अर्जुन साउदले १०/१० रन बनाए ।

पुलिसको लागि सार्वन यादवले तीन विकेट लिँदा सागर ढकाल र रशिद खानले समान दुई/दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४५.३ ओभरमा अलआउट हुँदै २ सय २१ रनमात्र बनाउन सक्यो । पुलिसको लागि रशिद खानले अर्धसतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ८२ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । यस्तै शंकर रानाले ४६, कप्तान आरिफ शेखले ३८, करण केसीले २३, सार्वन यादवले १३ र गुलसन झाले १० रन बनाए ।

आर्मीको लागि नरेन साउदले तीन, आकाश चन्दले दुई तथा कुशल मल्ल, शहाब आलम, बासिर अहमद र पवन कार्कीले समान एक/एक विकेट लिए ।

जितसँगै आर्मीले दुई अंक जोडेको छ । आजै भएको अर्को खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ७१ रनले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *