काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यसअघि उक्त नगरपालिकाको वडा नंं ७, ८ र ९ का पाँच जना दादुरा सङ्क्रमित पुष्टि भएको थियो । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । प्रमुख गौतमले दादुरा सङ्क्रमित सबैको बुर्तिवाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी दिए ।
दादुरा सङ्क्रमण देखिएको ठाउँबाट फैलिन नदिनेका लागि रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो । हाल नगरपालिकामा ८३ शङ्कास्पद बिरामी छन् । २१ नमूना परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । दादुरा सङ्क्रमितको समुदायमा खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको जनाइएको छ ।
ढोरपाटनमा दादुराविरुद्धको विशेष खोप अभियान भोलि शनिबार देखि चैत १ गतेसम्म सञ्चालन गरिने बताउनुभयो । नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप दिन लागिएको छ ।
