काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)मा आइतबार दिउँसो लागेको तालाबधि खुलेको छ । आज एन्फा महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल खेलाडी संघसँग भएको छलफलपछि एन्फा केन्द्रीय कार्यालयमा खेलाडी संघले गरेको तालाबन्दी खोलिएको छ ।
एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने सहमति भएको छ । साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ ।
छलफलमा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो ।
एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता शाह, प्रतियोगिता निर्देशक संजीव मिश्र, खेलाडी संघका अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुले बोलेका थिए ।
