काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले भदौ २३ गते प्रधानमन्त्री बालेन साहले सहिदका नाममा सरकारले गरेका काम कारबाहीबारे सम्बोधन गर्नुपर्ने बताएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले जेनजीको बलिदानबाट बनेको सरकारले यसबारे स्पष्ट जवाफ दिनुपर्ने बताएकी हुन् । उनले जेनजी आन्दोलनका कति माग पूरा भए भन्ने देशले जान्न चाहेको बताइन् ।
उनले भनिन्, ‘यस आन्दोलनबाट युवाले भ्रष्टाचार अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए, प्रधानमन्त्रीज्यूले यस दिन देशमा सहिदका नाममा सम्बोधन गर्नुहुन्छ भन्ने पूर्ण माग र आशा राखेको छु।’
उनले सरकारलाई राम्रो काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र सहिद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन् ?’
