धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अर्को आदेश नहुँदासम्म धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्न आदेश दिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन निर्वाचन आयोगले खारेज गरेको निर्णय विरुद्धको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘अदालतबाट आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनू भनी सम्बन्धित निर्वाचन अधिकृतलाई जानकारी गराएकोबाट मतपरिणाम घोषणा स्थगन भइरहेकै भन्ने देखिएको र विषयवस्तुको संवेदनशीलता र गाम्भीर्यतालाई विचार गर्दा प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्वाचन आयोगको समेत कुरा सुनी निवेदकको उम्मेदवारी खारेज गर्ने गरी भएको निर्णयसमेत हेरी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिएबाट सो प्रयोजनार्थ २०८२ फागुन २९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकी छलफल पेसीमा विपक्षी आयोगको २०८२ फागुन १८ को निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धी निर्णयसहितको फाइल लिई आउनु भनी विपक्षीहरूलाई यथाशीघ्र जानकारी गराई नियमानुसार पेस गर्नु ।’ रास्वपा उम्मेदवार कमल कालोसूचीमा रहेको पाइएपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनी अदालत गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *