धनुषा-१ मा मातृका यादवलाई विजयी घोषणा नगरेकोमा नेकपाको आपत्ति

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले धनुषा क्षेत्र नम्बर १ मा पार्टीका नेता मातृकाप्रसाद यादवलाई विजयी घोषणा नगरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले सोमबार विज्ञप्ति जारी गरी यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय उनले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो । निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय हो । कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन।’

नेकपाले निर्वाचन आयोगलाई विधिको शासन पालना गर्न र निष्पक्षरुपमा काम गर्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ । साथै न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *