काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको पछिल्लो परिणामले सबैलाई गम्भीररुपमा सोच्न बाध्य बनाएको बताएका छन् । शनिबार राति सामाजिक संजालमार्फत पाण्डेले निर्वाचन परिणाममा अब दोष कसैलाई थोपरेर उक्किने ठाउँ नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘अब दोष कसैलाई थोपरेर उम्किने ठाउँ छैन। निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। जनताले दिएको सन्देश स्पष्ट छ–अब एमालेले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ।’
उनले पार्टीका कार्यकर्तालाई निराश नहुन र जनविश्वास गुम्नुको कारण इमान्दारीतापूर्वक स्वीकार गरेर पाठ सिक्नुपर्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘म पार्टीका सबै कार्यकर्ता साथीहरूलाई निराश नहुन आग्रह गर्दछु। जनविश्वास गुम्नुको कारणलाई इमान्दारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र संगठन अघि बढ्न सक्छ। आफ्ना गल्तीहरू सच्याउने साहस, नेतृत्वको शैलीमा परिवर्तन र कार्यपद्धतिमा सुधार गर्न सके हामीले फेरि जनताको भरोसा जित्न सक्छौं । शानदार नतिजाका लागि रास्वपा र विजयी सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई!’
