काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले हालसम्म १८ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार २४ निर्वाचन क्षेत्रको नतिजा निस्किदा रास्वपाले १८ ठाउँमा जित निकालेको हो ।
रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, महोत्तरी १ मा प्रमोद कुमार महतो, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, स्याङ्जा १ मा धनन्जय रेग्मी, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । रास्वपाका उम्मेदवार ९९ ठाउँमा अगाडि रहेका छन् ।
नेपाली कांग्रेसले चार क्षेत्रमा जित निकालेको छ । तेह्रथुम १ मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली र दैलेख १ मा बासना थापा विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ९ स्थानमा अगाडि छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसकेका छन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ । एमालेका उम्मेदवार ११ निर्वाचन क्षेत्रमा अगाडि छन् ।
