बीबीसी । हिलारी क्लिन्टनले कंग्रेसको एक समितिसमक्ष आफूलाई जेफ्री एप्पस्टिनका आपराधिक गतिविधिबारे कुनै जानकारी नभएको बताएकी छन् । साथै उनले एप्पस्टिनसँग विगतमा सम्बन्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथसहित बयान दिन आह्वान गरेकी छन् ।
एप्पस्टिन प्रकरणमा छानबिन गरिरहेको हाउन ओभरसाइट कमिटीसमक्ष बन्द सत्रमा घण्टौँ बयान दिएपछि क्लिन्टनले ‘सत्य बाहिर आउनुपर्छ’ भन्ने आफ्नो अडान दोहोर्याइन् ।
उनका पति तथा पूर्व राष्ट्रपति विल क्लिन्टनले पनि शुक्रबार समितिसमक्ष बयान दिने कार्यक्रम रहेको छ।
क्लिन्टन दम्पतीले सुरुमा समितिमा बयान दिनेबारे राजनीतिक प्रेरित भन्दै अस्वीकार गरेका थिए। तर कंग्रेसको अवहेलना सम्बन्धी कारबाहीको सम्भावना बढेपछि उनीहरू बयान दिन सहमत भएका हुन्।
क्लिन्टन दम्पती र ट्रम्पले एप्पस्टिनसँग सम्बन्धित कुनै पनि गलत कार्य गरेको आरोप अस्वीकार गर्दै आएका छन्।
बिहीबार करिब ६ घण्टा समितिका सदस्यहरूसँग छलफल गरेपछि क्लिन्टनले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो बयान सार्वजनिक नगरिएकोमा निराशा व्यक्त गरिन्।
बिल क्लिन्टनले एप्पस्टिनका अपराधबारे आफूलाई जानकारी नभएको र दुई दशकअघि नै सम्बन्ध विच्छेद गरेको बताउँदै आएका छन्। सन् २०१९ मा न्यूयोर्कस्थित जेलमा एप्पस्टिनको मृत्यु भएको थियो।
सुनुवाइअघि क्लिन्टनले आफ्नो प्रारम्भिक वक्तव्य सार्वजनिक गर्दै एप्पस्टिनलाई कहिल्यै भेटेको सम्झना नभएको, उनको विमानमा नचढेको तथा उनको टापु, घर वा कार्यालय कहिल्यै भ्रमण नगरेको उल्लेख गरेकी छन्।
