उत्पादनमा कमी आएपछि अण्डाको मूल्य वृद्धि

चितवन । अण्डको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक संघले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ रुपैयाँले बढेको हो । यस्तै, मझौला अण्डाको फार्म मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो अण्डा ४०० रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट ५५० रुपैयाँ थियो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ । नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ । यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो । यद्यपि, लागत मूल्यमा पुग्न सकेको छैन ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९.१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ पर्न आउँछ । लागत मूल्यनजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन् । मूल्य बढ्ने आशमा किसान रहेका छन् । संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ । अध्यक्ष पोखरेलले अब अण्डाको मूल्य बढेर लागत मूल्यसम्म पुग्ने अपेक्षा गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *