जनकपुरधाम। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शीरमा देश र मनमा मधेस राखेर काम गर्ने बताएका छन्।
आइतबार जनकपुरधाम आएका प्रदेश प्रमुख झाले पदभार ग्रहण गर्दै जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेकोले शीरमा देश र मन मधेस राखेर काम गर्ने उनले बताए।
प्रदेश प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्ने भएकोले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका कायम रहने बताए।
उनले देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको बताए।
