एजेन्सी । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठका खेल आजबाट शुरू हुँदैछ । आज हुने खेलमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन् । कोलम्बोमा हुने खेल बेलुकी ७:१५ बजे शुरू हुनेछ ।
पाकिस्तान समूह ‘ए’बाट दोस्रो र न्युजिल्यान्ड समूह ‘डी’बाट दोस्रो स्थानमा रहँदै सुपर आठमा पुगेका हुन् । नेदरल्यान्ड्सलाई ३ विकेटले हराउँदै विश्वकपको शुरूवात गरेको पाकिस्तानले दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भारतसँग ६१ रनले पराजित पाकिस्तानले समूहचरणको अन्तिम खेलमा नामिबियामाथि १ सय २ रनको फराकिलो जित निकालेको थियो ।
यता न्युजिल्यान्डले पनि पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेट र दोस्रो खेलमा युएईलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित न्युजिल्यान्डले चौथो खेलमा क्यानडालाई ८ विकेटले हराएको थियो ।
दुई टोलीबीच भएको पछिल्लो १६ टी-२० आईमा न्युजिल्यान्डले १२ खेल जितेको छ । टी-२० विश्वकपमा भने दुई टोलीबीचको इतिहास फरक छ । टी-२० विश्वकपमा भएको सात भेटमा पाकिस्तानले ५ खेल जितेको छ ।
