काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा साढे ९ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।
माघ मसान्तसम्म नेपालले कुल ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा मात्रै १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालको आयातको सूचीमा पहिलेझैं यस पटक पनि पेट्रोलियम पदार्थ (इन्धन र लुब्रिकेन्ट) पहिलो स्थानमा छ ।
सात महिनाको अवधिमा १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसबाट सरकारले ७१ अर्ब ५९ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।
त्यस्तै आयात हुने वस्तुमा जनावर तथा वनस्पतिजन्य बोसो र तेल (खाद्य तेलको कच्चा पदार्थ आदि) रहेको छ, जसको आयात ९३ अर्ब ७५ करोड रुपैयाँको भएको छ । यो क्षेत्रबाट नेपालले ७८ अर्ब १९ करोड बराबरको वस्तु निर्यात पनि गरेको छ ।
यस्तै, फलाम र स्टील ७७ अर्ब ८५ करोड, विद्युतीय उपकरण ७७ अर्ब ६९ करोड र मेसिनरी सामान ७७ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।
कुल १ खर्ब ६८ अर्बको निर्यातमा ‘जनावर तथा वनस्पतिजन्य तेल र बोसो’ को हिस्सा मात्रै करिब ७८ अर्ब रुपैयाँ छ । यसबाहेक कफी तथा चियाको हिस्सा १२ अर्बको छ ।
