काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकपको समूहचरणबाटै बाहिरिएको छ । आइतबार दिउँसो भएको खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै लगातार तेस्रो हार बेहोरेको नेपालको सुपर आठ पुग्ने सम्भावना एक खेल अगावै समाप्त भएको हो ।
जितको लागि १ सय ३४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टाएको हो । वेस्ट इन्डिजलाई जित दिलाउन कप्तान शाइ होपले अर्धसतक बनाए । उनले ४४ बलमा ५ चौका र तीन छक्का प्रहार गरे । यस्तै शिमारोन हेटमायरले ३२ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४६ रन बनाउँदा ब्रान्डन किङले २२ रन बनाए ।
नेपालको लागि नन्दन यादवले ३ ओभरमा २४ रन दिएर एक विकेट लिए ।
यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । नेपालको लागि सोमपाल कामी र दीपेन्द्र सिंह एरीले सातौँ विकेटको लागि अर्धसतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलमा पुर्याएका हुन् । दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । टी-२० विश्वकपमा नेपाली ब्याट्सम्यानले बनाएको यो दोस्रो अर्धसतक हो ।
यस्तै सोमपाल कामीले १४ बलमा ४ चौकाको मद्दतमा २६ रन बनाउँदा लोकेश बमले १३ तथा आसिफ शेख र गुलसन झाले समान ११/११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
वेस्ट इन्डिजको लागि जेसन होल्डरले ४ ओभरमा २७ रन दिएर चार विकेट लिए । यस्तै अकिल होसेन, म्याथेउ फोर्ड, शामर जोसेफ र रोस्टन चेसले समान एक/एक विकेट लिए ।
जितसँगै वेस्ट इन्डिज तीन खेलबाट ६ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन नेपाल पुछारमा रहेको छ ।
