मिल्सबेरी नवौं काष्ठमण्डप अन्तर ए–लेभल बास्केटबल च्याम्पियन

काठमाडौं । उत्कृष्ट प्रदर्शन, अदम्य आत्मविश्वास र सशक्त टिमवर्कका साथ मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए–लेभल छात्र बास्केटबल प्रतियोगिताको प्रतिष्ठित उपाधि आफ्नो नाममा दर्ता गरेको छ।

रोमाञ्चक फाइनल खेलमा मिल्सबेरीका विशेष शाक्यले ४ अंक योगदान गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। सारंश भट्टराई र संघर्ष कठायतले समान २–२ अंक थप्दै जित सुनिश्चित गरे।

प्रतिस्पर्धी टोली नामीका पामे हाङ राईले ६ अंक जोडे पनि मिल्सबेरीको सन्तुलित र सामूहिक खेल अघि टिक्न सकेनन्।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका विशेष शाक्य ‘मोस्ट भेलुएबल प्लेयर (MVP)’ घोषित भए। उनको निर्णायक भूमिका र नेतृत्व क्षमताले टोलीलाई उपाधिसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।

यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा मिल्सबेरीले आयोजक काष्ठमण्डपलाई रोमाञ्चक प्रतिस्पर्धामा १५–१४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै, नामीले इस्लिङटनलाई ११–५ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

विजेता टोलीलाई नेपाल बास्केटबल संघ का अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक एवं प्रिन्सिपल डा. शिवा थापा तथा संस्थापक इला पियाले विशेष समारोहबीच ट्रफी तथा पुरस्कार प्रदान गरे।

दुईदिने प्रतियोगितामा ६ टिमले लिग–कम–नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *