काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार दिउँसो भएको खेलमा इटालीसँग १० विकेटले पराजित भएसँगै नेपालको सुपर आठ पुग्ने सम्भावना न्यून बनेको हो । यता इटालीले भने विश्वकपमा एतिहासिक जित निकालेको छ । पहिलोपटक विश्वकपमा सहभागिता जनाएको इटालीले पहिलो जित निकालेको हो ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । इटालीलाई सहज जित दिलाउन जस्टिन मोस्का र एन्थोनी मोस्काले अर्धसतक बनाए । आक्रमण ब्याटिङ गरेका एन्थोनीले ६२ र जस्टिनले ६० रन बनाए ।
यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा अलआउट हुँदै १ सय २३ रनमा समेटिएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा ३ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले २३ आसिफ शेखले २०, करण केसीले १८ र दीपेन्द्र सिंह एरीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
इटालीको लागि क्रिशन कालुगामागेले ४ ओभरमा १८ रन दिएर तीन विकेट लिए । यस्तै बेन मानेन्टीले दुई विकेट लिँदा अलि हसन र जेजे स्मुट्सले समान एक/एक विकेट लिए ।
जितसँगै इटाली दुई खेलबाट दुई अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहीन नेपाल पुछारमा रहेको छ ।
