एजेन्सी । आईसीसी टी-२० विश्वकपमा आज नेपाल र इटाली भिड्दैछन् । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल दिउँसो ३:१५ बजे शुरू हुनेछ ।
आज हुने खेलमा इटालीलाई हराउँदै नेपाल विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको झिनो हार बेहोरेको नेपाल आज इटालीलाई हराउँदै पहिलो दुई अंक जोड्न चाहन्छ । इंग्ल्याण्डसँग लोकेश बमले अन्त्यमा उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन बनाएपनि अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा ५ रनमात्र जोड्न सक्दा नेपाल पराजित भएको थियो ।
आज इटालीमाथि जित निकाल्न नेपाललाई डेथ ओभरमा सुधारिएको प्रदर्शन गर्नुपर्नेछ । डेथ ओभरमा कमजोर देखिँदै आएको नेपालले पहिलो इनिंसको दुई ओभरमा ३३ रन सुम्पिएको थियो ।
नेपाललाई सुपर आठको सम्भावना जीवित राख्नपनि आजको खेलमा जितको विकल्प छैन । आज पराजित भएको खण्डमा नेपाल सुपर आठको दौडबाट बाहिरिनेछ । हाल नेपाल एक खेलबाट अंकविहीन रहँदै समूह ‘सी’को चौथो स्थानमा रहेको छ । एक खेल बढि खेलेका वेस्ट इन्डिज ४ अंकस्थित शीर्ष स्थानमा, स्कटल्याण्ड दुई अंकसहित दोस्रो र इंग्ल्याण्डपनि दुई अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यता पहिलोपटक विश्वकपमा सहभागिता जनाएको इटाली आज नेपाललाई स्तब्ध बनाउँदै इतिहास रच्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको इटाली आज नेपाललाई हराउँदै विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
इटालीले आफ्नो पछिल्लो पाँच खेलमा चार हार र एक जितको नतिजा निकालेको छ भने नेपालले चार खेल जित्दा एक खेलमा पराजित भएको छ ।
