काठमाडौँ । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । बुधबारको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ल्याएका थिए ।
२०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकमाथि २०८२ साल जेठ ६ गते सभामा प्रस्तुत भएको थियो । २०८२ साल असार ९ गते सभामा सामान्य छलफल भयो । त्यसपछि दफावार छलफलका लागि २०८२ साल साउन १४ गते विधायन व्यवस्थापन समितिमा पठाइएको थियो ।
विधायन समितिले पारित गरेर सभामा पेस गरेसँगै विधेयक सभाबाट पारित भएको हो । यो विधेयक ऐनमा रुपान्तरित भएपछि चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न थप सहज हुने सरकारको विश्वास छ ।
