टी-२० विश्वकपमा आज नेपाल र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो दिनमा आज नेपाल र इंग्ल्याण्ड भिड्दैछन् । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल दिउँसो ३:१५ बजे शुरू हुनेछ ।

नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्न लागेको हो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेको नेपाल आज तेस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो । यसअघि नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो ।

नेपाल आज आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र तथा दुई पटक विजेता इंग्ल्याण्डलाई स्तब्ध बनाउँदै विश्वकपको यात्रा शुरूवात गर्ने लक्ष्यमा रहेको छ । गत संस्करणपनि टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग एक रनको झिनो हार बेहोरेको नेपाल यसपटक कुनै गल्ती गर्ने मुडमा छैन । विश्वकप अगाडि नेपाल उत्कृष्ट लयमा देखिएको छ । नेपालले विश्वकप छनोटमा सबै ६ खेल जितेर उपाधि आफ्नो पोल्टामा पार्दै विश्वकपको बाटो कोरेको थियो ।

त्यसअगाडि युएईमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको तीन खेलको सिरिज २-१ ले जित्दै नेपालले एतिहासिक उपलब्धि हासिल गरेको थियो । नेपाली टोलीका कप्तान रोहित पौडेलले उक्त सिरिजको आत्मविश्वास लिँदै विश्वकपमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

यता इंग्ल्याण्डपनि उत्कृष्ट लयमा रहेको छ । इंग्ल्याण्डले आफ्नो पछिल्लो पूरा भएको ११ टी-२० आईमा १० खेल जितेको छ । पहिलो पटक एसोसियट राष्ट्र नेपालसँग खेल्न लागेको इंग्ल्याण्ड सहज जित निकाल्दै विश्वकपको शुरुवात गर्ने लक्ष्यमा रहेको छ । १० वर्ष अगाडि भारतमा भएको टी-२० विश्वकपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको इंग्ल्याण्ड तेस्रोपटक उपाधि उचाल्ने लक्ष्यसहित भारत पुगेको हो ।

इंग्ल्याण्डको प्लेइङ ११ :- फिल साल्ट, जोश बटलर, जाकोब बेथेल, टम बान्टन, ह्यारी ब्रुक(कप्तान), साम कुरान, विल ज्याक्स, लियम डाव्सन, जोफ्रा आर्चर, आदिल रशिद, लुक वुड

नेपालको सम्भावित प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), सन्दीप जोरा, दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन कुमार झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *