टी-२० विश्वकपमा वेस्ट इन्डिजको विजयी शुरूवात

एजेन्सी । आईसीसी टी-२० विश्वकपमा दुईपटकको विश्वविजेता वेस्ट इन्डिजले विजयी शुरुवात गरेको छ । शनिबार दिउँसो भएको दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले हराएको हो ।

जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड १८.५ ओभरमा १ सय ४७ रनमा अलआउट भएको हो । स्कटल्याण्डको लागि रिचे बेरिङटनले सर्वाधिक ४२ रन बनाउँदा टिम ब्रुसले ३५, जोर्ज मुन्सेले १९, मार्क वाटले १५, ब्राण्डन म्याकमुलेनले १४ र म्याथिउ क्रसले ११ रन बनाए । स्कटल्याण्डका तीन ब्याट्सम्यानले खातापनि खोल्न सकेनन् ।

स्कटल्याण्डलाई कम स्कोरमा रोक्न रोमारियो शेफार्डले ३ ओभरमा २० रन दिएर ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १७ औँ ओभरमा म्याथिउ क्रस, माइकल लिस्क र ओलिभर डेभिडसन पभिलियन फर्काउँदै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै जेसन होल्डरले तीन विकेट लिँदा शामर जोसेफ र गुडाकेश मोटीले समान एक/एक विकेट लिए ।

त्यसअघि कलकतास्थित इडेन गार्डेन्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि शिमरोन हेटमायरले सर्वाधिक ६४ रन बनाए । उनले ३६ बलमा विस्फोटक ब्याटिङ गर्दै ६ छक्का र दुई चौका हिर्काए । यस्तै ब्रान्डोन किङले ३५, शेर्फाने रुथरफोर्डले २६, रोभ्मन पावेलले २४  र कप्तान शाइ होपले १९ रन बनाए ।

स्कटल्याण्डको लागि ब्राड करीले दुई विकेट लिँदा सफयान शरिफ, ओलिभर डेभिडसन र माइकल लिस्कले समान एक/एक विकेट लिए ।

जितसँगै समूह ‘सी’मा रहेको वेस्ट इन्डिजले दुई अंक जोडेको छ । आजै भएको उद्धाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *