जेनजी अभियन्ता भन्छन्-राज्यले रौतहट घटनाका अपराधीलाई कठघरामा उभ्याएर न्याय सुनिश्चित गरोस्

काठमाडौँ । जेनजी अभियन्ताहरुले सवारी दुर्घटनामा राजनीतिक दल र समर्थकहरूको दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार रौतहटमा रास्वपाका उम्मेदवार शेख सगिरको प्रचारमा प्रयोग भएको गाडीको ठक्करबाट इशनाथ नगरपालिका २ मटिया टोलमा स्थानीय मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो । घटनापछि जेनजी अभियन्ताहरुले दल र समर्थकको दोहोरो चरित्रप्रति आपत्ति जनाएका हुन् ।

जेनजी अभियन्ता तनुजा पाण्डे सामाजिक संजालमा लेख्छिन्ः

भदौ २१ मा एमाले मन्त्रीको गाडीले बच्चीलाई ठक्कर दियो । देशभर आक्रोश भयो । गलतलाई गलत भनियो, नेतृत्वलाई प्रश्न गरियो । हिजो रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले ४ वर्षीया अल्फा खातुनको ज्यान गयो । यो पटक आवाज हरायो । जो बोल्यो,पीडितको पक्षमा उभियो, उसैलाई ट्याग लगाइयो ‘राजनीति नगर’, ‘एजेन्डा नबनाऊ’। दुर्घटना रोक्न सकिँदैन, तर जवाफदेही हुन सकिन्छ । जवाफदेहिता, न्यायको कुरा गर्नु कहिलेदेखि राजनीति भयो ? मृत्युमा दुःख व्यक्त गर्नु एजेन्डा भयो? हिजो मैले अरूको गल्तीमा बोल्नु नैतिकता थियो, आज तपाईंहरूको पार्टीको गल्तीमा बोल्नु राजनीति हो ? राजनीति त त्यही हो जसले दोष छुपाउँछ र आफ्नो पार्टी बचाउँछ । गलत त गलत नै हो, पार्टी जेसुकै होस् । प्रिय घण्टीका साथीहरू झोला धेरै रङका हुन्छन्। संवेदनशीलता र मानवतासँग सम्बन्धित विषयमा सबै रङका झोला बिसाइएको राम्रो हुन्छ। परिवारलाई शक्ति, पीडितलाई न्याय, यो हाम्रो साझा जिम्मेवारी हुनपर्छ । आफ्नालाई जोगाउने, अरूलाई दोष थोप्ने पुरानाहरूभन्दा तपाईंहरू फरक हुनुपर्छ ।

अर्की जेनजी अभियन्ता भावना राउत लेख्छिन्ः

यो कानुनी राज्य हो। एक नागरिकको ज्यान गएको छ। यस मुलुकमा प्रहरी छ, अदालत छ, सरकार छ अब काम यिनैले गर्नुपर्छ । हिजो एमालेका नेताबाट दुर्घटना हुँदा यदि सत्ता र पार्टीको आड नलिइएको भए, शीर्ष नेतृत्वले गैरजिम्मेवार अभिव्यक्ति नदिएको भए र प्रहरी–अदालतलाई निष्पक्ष रूपमा काम गर्न दिइएको भए, सायद त्यो घटना आज यति ठूलो राजनीतिक विवादको प्रतीक बन्ने थिएन । आज नागरिक सरकार छ। प्रधानमन्त्री र गृहमन्त्री स्वयं ‘न्यायका प्रतिमूर्ति’को रूपमा प्रस्तुत हुनुहुन्छ। त्यसैले यो घटनामा न्याय गर्नु केवल कानुनी दायित्व होइन, राजनीतिक नैतिकताको प्रश्न पनि हो। यहीँबाट आग्रह छ, नागरिक सरकार हुनु भनेको कस्तो हुन्छ भन्ने नजिर यही घटनाबाट स्थापित गरियोस्। ताकी भोलि जोसुकै सत्ता आए पनि, तपाईंहरूले बसालेको नजिर देखेर न्यायसँग सम्झौता गर्नुअघि कम्तीमा डर राख्न बाध्य होस् । दिवंगत आत्माको शान्तिको कामना। अत्यन्तै अकालमा ज्यान गुमाउनु पर्यो । राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् र अपराधीलाई कठघरामा उभ्याएर न्याय सुनिश्चित गरोस् । हामी हेर्दैछौँ, बुझ्दैछौँ सबैको धरातल ।

जेनजी अभियन्ता रक्षा बम लेख्छिन्ः

सबैभन्दा पहिले, कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुने साथीहरूलाई यत्ति भन्न चाहन्छु कि आफ्नो नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड गर्न बन्द गरौँ । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ । रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ। गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको हामी सामाजिक संजालमा देख्न सक्छौँ। हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा र त्यसपछि नेतृत्वबाट आएको गैरजिम्मेवार, तल्लो स्तरको अभिव्यक्तिले हामीलाई आक्रोशित बनाएको थियो। आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्याइरहनु भएको छ । त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला। तर अहिले मुख्य कुरा जिम्मेवारी हो। जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस् । याद राख्नुहोस् साथीहरू, तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ।कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहटमा पार्टीका उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने बताएका हुन् । उनले भनेका छन्, ‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *