अरु दलसँग नभएका एमालेसँग दुई वटा पुँजी

-नारायण पौडेल

एमालेको शक्ति कति छ ? एमालेसँग २ वटा त्यस्ता पुँजी छन्, जुन अरु दलसँग छैन । जसकाबारे चर्चा गर्नु अघि स्मृतिका कुरा गरौं । २०७० सालको संविधानसभाको निर्वाचन ताका म सक्रिय पत्रकारितामा थिएँ । माओवादी नै पहिलो दल हुने, कांग्रेस दोस्रो हुने र एमाले निकै खस्किने चर्चा काठमाडौँमा सुनिन्थ्यो । चर्चित एक विश्लेषकले मसँगकै अन्तरवार्तामा भनेका थिए– म गृहनगर विराटनगर पुगेर आएँ, एमालेको हालत बहुत बुरा हुनेवाला छ ।

चुनावी कार्यक्रम को भन्दा को कम भन्ने सडक बहस लिएर हामी देश दौडाहामा निस्कियौं । चितवन झर्न नपाउँदै पत्ता लाग्यो– एमालेको शक्ति काठमाडौंले सोचेजस्तो क्षिण रैनछ । भरभर्राउँदो रहेछ । कार्यक्रममा उपस्थित एमालेका उम्मेदवार, कार्यकर्ता र समर्थक जुर्मुराएको महसुस हुन्थ्यो । नेपालको राजनीतिमा यो १२ बर्षमा धेरै पानी बगिसकेको छ । सामाजिक संजाल र काठमाडौं मनोविज्ञान हेर्दा एमालेको स्थिति फेरि एकपटक बुरा हुने देखिन्छ । के एमालेको स्थिति ठ्याक्कै त्यस्तै हो ? तर गहन विश्लेषण भएको देखिँदैन ।

जसरी एमालेले निश्चितरुपमा जित्ने कुनै ठाउँ छैन, त्यसरी नै निश्चितरुपमा हारिहाल्ने क्षेत्रपनि एकाधबाहेक छैन । आजको विषम परिस्थितिमा पनि एमाले सबैजसो क्षेत्रमा मुख्य प्रतिष्पर्धी हो । तसर्थ एमाले तवाह हुने आँकलन गर्न मिल्दैन ।

एमालेसँग २ वटा त्यस्ता पुँजी छन्, जुन अरु दलसँग छैन । एमालेको पहिलो शक्ति होः सशक्त संगठन र समाजका विभिन्न अवयवमा वर्चश्व । विद्यालय व्यवस्थापन, साना किसानदेखि वन समितिसम्म–एमालेका जरा गडेका छन् । एमालेका कार्यकर्ता तुलनात्मकरुपमा समाजमा घुलेका छन्, हत्तपत्त पार्टी छाड्दैन । कछुवाजस्ता छन् । टाउको लुकाउन र जोगाउन सिपालु । नेतृत्वप्रतिको असन्तुष्टि व्यक्त गर्न वा परिवर्तनको चाहनालाई सहज बनाउन बेलाबेला एमाले पंक्ति निष्क्रिय पर्याय बनिदिन्छ, पार्टी नछाडि ।

६४ को निर्वाचनमा धेरै एमालेले माओवादीलाई मत दिए, एमाले भइरहे । तिनै एमाले ७० मा एमालेलाई बहुराउन कम्मर कसे । चुनावसम्म एमाले कार्यकर्ताको मुभ कस्तो हुन्छ भन्ने कुराले परिणामलाई धेर माने राख्नेछ ।

एमालेको दोस्रो शक्ति होः एण्टी करेण्ट पोलिटिक्स । अन्य सबैजसो दलले भदौरे आन्दोलनलाई महिमागान गर्दै आएका छन् । एमालेले सो आन्दोलनलाई आगजनी, आतंक र देशद्रोहका रुपमा विश्लेषण गरेको छ । आन्दोलन पक्षधरका मत धेरै पार्टीमा विभाजित हुनेछ । आन्दोलनको विपक्षमा रहेकाको मत एमालेमा एकगठ्ठा हुने सम्भावना छ । अरु दलले हामी सुध्रिएर आयौं भनिरहेका छन्, एमाले हामी बिग्रिएकै थिएनौं, बिग्रेको भए पो सुध्रिने भनिरहेको छ । राजनीतिमा एण्टी करेण्टले कहिलेकाहीं खोलो फर्काउन सक्छ, आममतदाताको मनोविज्ञान अजिबको हुन्छ ।

जित निश्चित नभएजस्तै हार पनि पक्का नभएका कारण एमाले कमब्याक हुनै सक्दैन भन्ने छैन । एमाले एकातिर पहिलो दल हुने सम्भावना र अर्कोतिर निकै खुम्चिने दोसाँधमा छ । धेरैजसो क्षेत्रमा एमालेको उपस्थिति जबरजस्त छ, एमालेपट्टि एउटा ढक थपिदिँदा पनि उसको पल्ला भारी हुनेछ ।

यही धरातलीय यथार्थ बुझेर एमाले चुनावी गठबन्धनका लागि प्रयासरत छ । यसर्थ एमाले अध्यक्ष ओली प्रचण्ड नेतृत्वको नेकपालाई ढक बनाउन लालायित छन् । यसबीचमा उनले प्रचण्डलाई पटक पटक फोन गरि सहकार्यका लागि सकारात्मक रहेको जनाउ दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *