काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । बिहीबार दिउँसो भएको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । मंगलबार भएको पहिलो अभ्यास खेलमापनि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो ।
जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन आसिफ शेखले अर्धसतक बनाए । उनले २९ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ५८ रन बनाएर रिटायर्ड आउट बनाएका हुन् । यस्तै सन्दीप जोराले ३० बलमा ४ चौका र एक छक्काको मद्दमा ४४ रन बनाउँदा गुलसन झाले नटआउट ३१, कुशल भुर्तेलले १२, दीपेन्द्र सिंह एरीले नटआउट ९ र लोकेश बमले ५ रन बनाए ।
क्यानडाको लागि जस्करनदिप सिंह, सान बिन जफर र अजयभिर सिंहले समान एक/एक विकेट लिए ।
यसअघि चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । क्यानडाको लागि नाभ्नित धलिवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा ३ छक्का र एक चौका प्रहार गरे । यस्तै श्रेयस मोभ्भाले नटआउट ३८, कन्वार्पाल ताथ्गुरले २५, नस्करन सिंहले २१ र निकोलस किर्टोनले १० रन बनाए ।
नेपालको लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिँदा नन्दन यादव र सोमपाल कामीलेपनि एक/एक विकेट लिए ।
अब नेपालले आइतबार इंग्ल्याण्डसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।
